काठमाडौं । जहाजभित्र बम रहेको झुट्टा हल्ला र धम्कीले भारतीय विमान कम्पनीहरु आक्रान्त छन् । भारतीय सञ्चारमाध्यमका अनुसार पछिल्लो एक हप्ताभित्र मात्रै एक सयभन्दा बढी धम्की खेप्नु परेको छ ।
भारतका नागरिक उड्डयन मन्त्री के राममोहन नाइडुले विमान कम्पनीहरुमा धम्की बढेपछि कानून नै संशोधन गर्न लागिएको बताएका छन् । नाइडुका अनुसार दोषीलाई ‘नो फ्लाइ लिस्ट’ मा राख्ने गरी कानून संशाेधन गर्न लागिएको हो ।
बमको धम्कीका कारण विमानस्थलहरु र विमान कम्पनीलाई हैरानी बढिरहेको छ । अक्टोबर १४ मा मुम्बइबाट न्यूयोर्कको जोनअफ केनेडी विमानस्थलका लागि उडेको एउटा ७७७ बोइङ टेकअफ लगत्तै बमको धम्की आयो ।
२०० यात्रु र करिब १३० टन इन्धन बोकेको सो बिमानको १०० टन इन्धन डम्प गरेर सुरक्षित अवतरण गर्नुपरेको थियो । यसबाट बिमानलाई इन्धनवापत मात्रै १ लाख २० हजार डलर क्षति भएको टाइम्स अफ इन्डियाले जनाएको छ ।