६ कार्तिक, इलाम । इलाममा तरकारीको मुल्य महंगिएको छ । तरकारी उत्पादन हुने जिल्ला भएपनि चाडवाडको समयमा इलाममा तरकारीको मूल्य बढेको छ ।
दसैंअगाडिदेखि नै बजारमा पहाडमै उत्पादन भएको आलु अभावजस्तै थियो । दसैं सकिएपछि पनि पहाडमा उत्पादन भएको आलु प्रतिकिलो ८० देखि सय रुपैयाँसम्म पुगेको छ ।
इलामको साप्ताहिक हाटमा गोलभेंडा प्रतिकिलो एक सय २०, प्याज प्रतिकिलो एक सय ५०, बिईं प्रतिकिलो ८०, इस्कुस प्रतिकिलो ३५, भिन्डी प्रतिकिलो दुई सय, अदुवा प्रतिकिलो एक सय २० रुपैयाँमा किनबेच भएको छ ।
यस्तै, अकबरे र बैगुन प्रतिकिलो दुई सय, बन्दागोपी प्रतिकिलो ६०, रायोको साग प्रतिमुठा ४० रुपैयाँ हुनेगरेको छ । तराईको आलु पनि प्रतिकिलो ६० देखि ७० रुपैयाँ रहेको एक व्यापारीले बताए ।
व्यापारी लक्ष्मी खत्रीले तिहार नजिकिँदै गर्दा प्याज र गोलभेंडाको मूल्य बढ्नसक्ने बताइन् । ‘यो वर्ष बर्खामा बाढी–पहिरोले पनि होला, गाउँमा तरकारी उत्पादन खासै छैन । आलु त अब बीउका लागि मात्र आउँछ,’ खत्रीले भनिन् ।
मुला र सिमी कोसा पनि वर्षाका कारण उत्पादन नै राम्रो नभएको किसान बताउँछन् । पछिल्लो समय अकबरेमा पनि दाना र बोट सुक्ने समस्याले उत्पादनमा कमी आउने सम्भावना रहेको सूर्योदय नगरपालिका–१२ का किसान पंकज ढकालले बताए । ‘खोर्सानीको धेरै बोट मरेका छन्, दाना पाक्ने बेलामा दाना नै सुकेको छ,’ ढकालले भने ।
गोलभेंडा उत्पादनको सिजन सकिनलागेकाले पनि मूल्य बढेको व्यापारी बताउँछन् । जिल्लाका धेरै किसानले बेमौसमी तरकारीका रूपमा टनेलभित्र खेती गरेको र हिउँदमा भन्दा वर्षायाममा उत्पादन कम हुने कारण तरकारी महँङ्गो भएको बताइएको छ ।
इलाममा कति तरकारी उत्पादन हुन्छ र दैनिक कति निकासी हुन्छ भन्ने यकिन तथ्यांक भने पाइँदैन ।