३ कार्तिक, झापा । यो वर्ष अत्याधिक पानी परेको कारण झापाका कृषकले लगाएका अगुवा धानबालीमा क्षति पुगेको छ । केही काटेका धान भिजेका छन् भने केही काट्नलाई तयार पारिएको धान काट्न नपाउँदा खुरीएको छ । विशेष गरी रामधान, हर्दिनाथ–१, चैते–५, जिरामसिना लगायतका धानहरुमा क्षति पुगेको कृषकहरुले बताएका छन् ।
निरन्तर भएको वर्षाका कारण झापाको अर्जुनधारा नगरपालिका क्षेत्रमा नगर विकास सहकारीले बीउ उत्पादनका लागि तयार पारिएको हर्दिनाथ–१, चैते–५ र रामधानमा ४० प्रतिशत क्षति पुगेको जनाएका छन् । कति ठाउँमा धानको फूल फूल्ने बेला अत्याधिक गर्मीसँगै पानी पर्दा भुसमात्र भएको कृषक सुरेश मगरले बताउनुभयो ।
वर्षा निकै लामो समयसम्म रहने मौसम विद्हरुको अनुमान छ । कोशी प्रदेशमा लगभग ६४ करोड बराबरको अगुवा धानबालीमा असर भएको तथ्याङ्क छ । बढ्दो महंगीसँगै धान उत्पादनमा भएको क्षतिले किसानहरु पीडित हुन पुगेका छन् । महंगो धान रोपाई, वर्षाका कारण उत्पादनमा ह्रास आउनाले यो वर्ष अन्नको भाउ बढ्ने देखिन्छ । अत्याधिक उत्पादन हुँदा पनि कोशी प्रदेशका जनता भारतको चामलमा भरपर्नु परेको छ । गाउँघर बाहेक होटलमा भारतमा उत्पादन गरिएको चामल खपत हुने गरेको पाइन्छ ।