९ असोज, काठमाडौं । मनसुन सक्रिय भएकाले अबको चार दिन देशभर अति भारी वर्षाको सम्भावना रहेकाले सचेत रहन मौसम विभागले अनुरोध गरेको छ । मौसम विभागका अनुसार बाली भित्र्याउने समय भए पनि तत्कालै खेतबारीमा प्रवेश गर्ने अवस्था नरहेकाले सचेतता अपनाउन अनुरोध गरिएको छ ।
मौसमविद् रोजन लामिछानेले बाह्रखरीसँग कुरा गर्दै अब कम्तिमा पनि चार दिन देशैभर वर्षा हुने भएकाले सचेत रहन अनुरोध गरे । मौसमविद्हरुले बंगालको खाडीबाट वर्षा गराउने वायू नेपालतर्फ प्रवेश गरेकाले मनसुन सक्रिय भएको बताएका छन् ।
बाढी पहिरोको जोखिम उत्तिकै रहेको र कृषि क्षेत्रलाई धेरै असर गर्ने देखिएको उनले बताए ।
“बदली र वर्षाको सम्भावना धेरै देखिन्छ । पश्चिमतिरबाट सुधार हुने देखिन्छ,” उनले भने, “धान भित्र्याउने बेला भएको छ । अहिले खेतमा प्रवेश गर्ने समय होइन ।”
विगतका वर्षहरुको तुलना गर्दा अक्टोबरको दोस्रो सातासम्म बाहिरिन्छ कि भन्ने अनुमान गरिए पनि त्यो सम्भावना नदेखिएको मौसमविदहरुको टिप्पणी छ । यसैबीच पच्चिम क्षेत्रका कतिपय स्थानमा वर्षा सुरु भइसकेको हुँदा स्थानीय तहले खेतमा प्रवेश नगर्न र धान भित्र्याउने कार्यमा नलाग्न अनुरोध गर्दै आएका छन् ।