झापा कारागारका १५ कैदीले सजाय मिनाहा पाउने

झापा कारागारका १५ कैदीले सजाय मिनाहा पाउने


२२ भदौ, झापा । सरकारले एकैपटक एक हजारभन्दा बढी कैदीको बाँकी सजाय मिनाहा गरेर छोड्ने तयारी गरेको छ । जसमध्ये झापा कारागारका १५ कैदीले पनि सजाय मिनाहा पाउने भएका छन् । असोज ३ गते संविधान दिवसका अवसर पारेर उनीहरुलाई सजाय मिनाहा गरेर थुनामुक्त गर्न लागिएको हो ।

कारागार व्यवस्थापन विभागले असार ९ गते ७ दिने सार्वजनिक सूचना आह्वान गर्दै ६२० जना कैदीको सजाय मिनाहाका लागि नामावाली निकालेको थियो । विभागले मंगलबार फेरि ४९२ जनाको नामावलीसहित ७ दिने सूचना निकालेको छ । जसमा झापा कारागारका कैदीहरुको पनि नामावली समावेश गरिएको छ । सजाय मिनाहा गर्न लागिएका उनीहरु विरुद्ध कुनै उजुरी वा गुनासो भए दिन सूचनामा भनिएको छ ।

झापाबाट सजाय मिनाहा भएर छुट्ने १५ जना मध्ये नौ जना सवारी ज्यान मुद्दाका रहेका छन् । सवारी ज्यान मुद्दामा सजाय काटिरहेका भद्रपुर–१० का अशोक टुडु, भद्रपुर–४ का विश्वदिप राजवंशी, हल्दिबारी–४ का नेमलाल राजवंशी, शिवसताक्षी–३ का खेमकुमार श्रेष्ठ, हल्दिबारी–२ का रितलाल राजवंशी, अर्जुनधारा–१० का दिलिप तामाङ, पाँचथरका विष्णु कुमार राई, लेटाङ–८ का हरिकाजी कोइराला र शिवसताक्षी–३ का कमल सिंह सम्बाम्फे रहेका छन् ।

यसैगरी बहुविवाह मुद्दामा शिवसताक्षी–८ का प्रेम बहादुर पोर्तेल, शिवसताक्षी–४ का भद्रकला लकान्द्री र गौरीगञ्ज–३ का सन्तोष कुमार महतो लगायतका कैदीबन्दी छुट्ने भएका छन् । यसैगरी वनपैदावार हानी नोक्सानी मुद्दामा कारागार चलान भएका उदयपुरका फुसन मुर्मु र शिवसताक्षी–३ का खगेन्द्र प्रसाद दाहाल कैदमुक्त हुन लागेका हुन् । यसका साथै चोरी मुद्दाका रामधुनी–५ का रुद्र खड्का पनि संविधान दिवसमा छुट्ने भएका छन् ।

झापा कारागारबाट छुट्न लागेका कैदीहरुले आधा सजाय काटिसकेको र कतिपय पीडित परिवारको समेत सहमतिमा छुट्न लागेका झापा कारागार प्रशासनले जनाएको छ ।

कारागार व्यवस्थापन विभागका प्रमुख जयनारायण आचार्यले असार ९ गते र भदौ १६ गते निकालिएका नामावलीका कैदीलाई माफी मिनाहाका लागि अब एकैपटक सिफारिस हुने बताउनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर