१६ भदौ, इलाम । मालपोत कार्यालय इलामले जिल्लाका आठ पालिकाको जग्गा कित्ताकाट रोकिएपनि ससिम (कित्ता नकाटी) गर्न सकिने काम चाहिँ गर्ने भएको छ ।
सरकारले ल्याएको भू–उपयोग नियमावली २०७९ ले व्यवस्था गरेअनुसार स्थानीय तहले काम नगर्दा भदौ १३ देखि मालपोतले जग्गाको कित्ताकाटदेखि सबैखाले काम रोकेको थियो ।
मालपोतको सूचनाअनुसार इलाम, माई नगरपालिका, सन्दकपुर, माइजोगमाई, रोङ, चुलाचुली, माङसेबुङ र फाकफोकथुम गाउँपालिकाको जग्गाको कित्ता काट सँगै, दृष्टि बन्धक, अंशबन्डा पास, धितो बन्धकलगायत काम रोकिएका थिए ।
तर, नियमावलीका शब्द, विभागसँगको समन्वय–सुझाव र सेवाग्राहीको पिरमर्कालगायतलाई ध्यानमा राखेर समिम कित्ताको चाहिँ काम हुनथालेको मालपोतले जनाएको छ । प्रमुख मालपोत अधिकृत चन्द्रप्रसाद मिश्रले कित्ताकाट नै गर्नुपर्ने अवस्थामा बाहेक अरू काम गर्न थालिएको पालिकापेजलाई बताए । ‘पालिकाले अद्यावधिक विवरण र अद्यावधिक नक्सा मालपोतमा बुझाउनुपर्ने हो,’ उनले भने, ‘तर, अधिकतर पालिकाको विवरण आएको छ, नक्सा चाहिँ नहुँदा कित्ताकाट रोकिएको छ ।’
उनका अनुसार कतिपय एउटै कित्ताको सडकले छोएपट्टि व्यावसायिक, अलि मिटर परसम्म आवासीय र अलि पछिको जग्गा कृषि भनेर पनि वर्गीकरण गरेको पाइएको छ । ‘यस्तो अवस्थामा चाहिँ ससिम भन्न सकिँदैन,’ उनले भने, ‘जग्गाको काम गर्दा नापी कार्यालय पठाउनेखालको आयो भने काम हुँदैन ।’
भू–उपयोग क्षेत्र नक्सा तथा विवरण अध्यावधिक गरिसक्नुपर्ने र ०८१ साउन ३२ सम्ममा मालपोत कार्यालयमा आइसक्नुपर्ने भएपनि ती पालिकाले अध्यावधिक विवरण नपठाएकाले कित्ताकाटको काम रोकिएको हो । सूर्याेदय र देउमाई नगरपालिकाले भने सबै विवरण पठाएकाले त्यहाँका जग्गाको सबैखाले काम हुने मालपोतले जनाएको छ ।
नियमावलीमा हरेक स्थानीय तहले कृषि, वन, व्यवसाय, आवास, खानीलगायत १० क्षेत्रमा जग्गा वर्गीकरण गरी मालपोत कार्यालयमा बुझाउनुपर्ने व्यवस्था छ । वर्गीकरण भएको मितिले एक वर्षभित्र अध्यावधिक गरी मालपोत कार्यालयमा बुझाउनुपर्ने व्यवस्था रहेको प्रमुख अधिकृत मिश्रको भनाइ छ ।