१५ भदौ, झापा । व्यवसायीको सहजताका लागि भन्दै गुणस्तर तथा नापतौल कार्यालय झापाको प्राविधिक सहयोगमा बिर्तामोडका व्यवसायीहरुका ढक तराजुको चेक जाँच तथा नवीकरण शुरु गरिएको छ ।
बिर्तामोड उद्याोग वाणिज्य संघले संघको कार्यालयमा शनिवारबाट तीन दिनसम्म ढक तराजुको चेकजाँच तथा नबीकरण कार्य शुरु गरिएको संघका अध्यक्ष राजु न्यौपानेले जानकारी दिनुभयो ।
गुणस्तर तथा नापतौल कार्यालय झापाका प्रमुख सुनिल कुमार यादवको प्रमुख आतिथ्य तथा संघका अध्यक्ष न्यौपानेको अध्यक्षतामा आयोजित कार्यक्रमकाबीच ढक तराजुको नापजाँच शुरु गरिएको हो ।
ढक तराजुको नापजाँच तथा नवीकरण गराउन गुणस्तर तथा नापतौल कार्यालय भद्रपुरसम्म जाने झण्जटबाट मुक्त गराउन यो कार्यक्रम गरिएको बताउँदै अध्यक्ष न्यौपानेले सबै व्यवसायीहरुलाई संघको कार्यालयमा आएर ढक तराजु नापजाँच गर्न÷ गराउन आग्रह गर्नूभयो ।
कार्यक्रममा बोल्दै गुणस्तर तथा नापतौल कार्यालय झापाका प्रमुख यादवले विशेषागरी भारतबाट सोझैं ल्याइने ढक तराजुमा प्रमाणिकरण गरिएको चिन्ह नहुने र त्यस्ता ढक तराजुबाट उपभोक्ता ठगिने गरेको हुँदा सचेत रहन आग्रह गर्नुभयो । उहाँले त्यस्ता ढक तराजु अनुगमनका क्रममा भेटिए २५ हजार रुपैयाँसम्म जरिवाना हुने बताउनुभयो ।