१२ भदौ, इलाम । इलाम नगरपालिका–४ ले आफ्नो वडामा पर्ने पुवाखोलामा मानव शवको अन्तिम दाहसंस्कारमा गाडीको टायर तथा प्लास्टिकजन्य पदार्थ प्रयोग गर्न प्रतिबन्ध लगाएको छ ।
प्रायः धेरै स्थानमा पछिल्लो समय मानव शरीरको दाहसंस्कार गर्दा चाँडो शव जलाउँदा घाटहरूमा दाउरासँगै टायर र प्लास्टिकजन्य पदार्थ प्रयोग गर्ने गरिएको छ ।
तर, टायर र प्लास्टिकजन्य पदार्थले मानवस्वास्थ्य र वातावरणमा प्रतिकूल असर गर्ने भएकाले यसको प्रयोगमा पूर्ण प्रतिबन्ध गरेर परम्परागत ढंगबाटै शव जलाउन सबैलाई आग्रह गरिएको इलाम–४ का वडाध्यक्ष नुतनदेव दुलालले बताए ।
उनले कपुर, घिउ, तोरी, तिल, चिनीको प्रयोग गर्न र शव जलिसकेपछि चित्ता पखालेरमात्र छोड्न आग्रह गरे । दाहसंस्कारमा सहयोग आवश्यक परे जनप्रतिनिधि र टोल विकास संस्थाले समेत सहयोग गर्ने वडाले जनाएको छ । वडा कार्यालयले सार्वजनिक सूचना निकालेर समुदायलाई शव जलाउने विषयमा सचेतसमेत गराएको छ ।