११ भदौ, झापा । आज मंगलबार झापाका ६ पालिकामा श्रीकृष्ण रथयात्रा हर्साेउल्लासका साथ निकाल्ने तयारी गरिएको छ । वैदिक सनातन हिन्दु धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’को भोलिपल्ट श्रीकृष्ण रथयात्रा निकाल्ने धार्मिक प्रचलन छ । सोही बमोजिम जिल्लाको भद्रपुर, दमक, गौरीगञ्ज, बिर्तामोड, झापा र गौरादहमा श्रीकृष्ण रथयात्रा निकाल्ने तयारी गरिएको हो ।
जिल्लाको सदरमुकाम भद्रपुरमा २२औं पटक निकालिने श्रीकृष्ण रथयात्राको सम्पूर्ण तयारी पूरा भइसकेको श्रीकृष्ण रथयात्रा उत्सव समारोह समितिका अध्यक्ष किरण भारतीले जानकारी दिनुभयो ।
श्रीकृष्ण भगवान् सवार रथको विशेष पूजा अर्चना पश्चात भद्रपुर–५ स्थित लक्ष्मीनारायण मन्दिर अगाडिबाट आज दिउँसो २ बजे रथयात्रा निकालिने अध्यक्ष भारतीले बताउनुभयो । जिल्लामै भद्रपुरको रथयात्रा पहिलो हो । अहिले बिस्तारै सबै पालिकाहरूले निकाल्न थालेको उहाँको भनाई छ ।
यस वर्ष रथयात्राका लागि भारत विहारको फारभिजगञ्जका बोलाएको १४ जनाको टोलीले श्रीकृष्ण ताण्डव नृत्य समेत प्रस्तुत गर्ने समितिका सचिव सञ्जय घोषले जानकारी दिनुभयो ।
त्यस्तै बिर्तामोडमा दोस्रो वर्ष रथयात्रा निकाल्ने तयारी गरिएको छ । श्री बालाजी मन्दिर समिति बिर्तामोड र श्री कृष्ण प्रणामी मन्दिर सतगुरु श्री देवचन्द्र सदन बिर्तामोडले अघिल्लो वर्ष छुट्टाछुट्टै रुपमा बिर्तामोडमा श्रीकृष्ण रथयात्रा निकालिएको थियो । तर, यस वर्ष यी दुवैको आयोजनामा बृहत रुपमा रथयात्रा निकालिने श्री बालाजी मन्दिर समितिका अध्यक्ष नवीन गोयलले जानकारी दिनुभयो ।
बिहान ११ गते विशेष पूजाअर्चाना गरिने र दिउँसो ३ बजे रथयात्रा बालाजी मन्दिरबाट प्रारम्भ हुने उहाँको भनाई छ । रथयात्रा बिर्तामोड बजार परिक्रमा गर्ने जनाइएको छ ।
गौरीगञ्ज गाउँपालिकामा चौथो पटक रथयात्रा निकाल्ने तयारी गरिएको छ । गौरीगञ्जको पहिचान र गौरवलाई मध्य नगर गरी श्रीकृष्ण रथयात्रा समारोह समितिले रथयात्रा निकालिएको हो । २०७५ सालमा पहिलो पटक गाडामा भगवान् श्री कृष्णको मूर्ति राखेर रथयात्रा निकालिएको थियो । समितिले दुई वर्ष अघि नै नयाँ रथ बनाएको थियो । खजुरगाछीको राधाकृष्ण मन्दिरबाट सुरु हुने रथयात्रा नगर परिक्रममा गरी पुनः सोही मन्दिरमा आएर समापन हुने जनाइएको छ ।
त्यस्तै गौरादहमा पनि रथयात्रा निकाल्ने तयारी गरिएको छ । गौरादह १ स्थित राधाकृष्ण मन्दिर परिसरबाट विभिन्न झाँकीसहित निकालिने रथ बजार परिक्रममा गरी पुनः मन्दिरमा आएको समापन हुने जनाइएको छ । झापा गाउँपालिका–६ स्थित श्रीकृष्ण प्रणामी सत्सङ्गले दोस्रो वर्ष पनि गाडीमा भगवान् श्रीकृष्ण राखेर रथ निकाल्ने तयारी गरेको छ ।
यता जिल्लाका विभिन्न पालिकामा रथयात्रा निकाल्ने तयारी गरिएसँगै सुरक्षा व्यवस्था पनि चुस्तदुरुस्त बनाइने जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिनुभयो । भद्रपुर, बिर्तामोड र दमकमा जिल्लाबाट थप प्रहरी जनशक्ति पठाइने उहाँले बताउनुभयो । अन्य पालिकाहरूमा त्यहीका जनशक्ति परिचालन गरिने उहाँको भनाई छ ।