रैथाने खाजा रु ५० मा

रैथाने खाजा रु ५० मा


११ भदौ, झापा । आम उपभोक्तालाई स्वस्थकर खाना ‘सर्भ’ गरेर नाफा होइन, सेवा गरिरहेका छन– झापा गाउँपालिका–७ का काजी राउत । दमक–६ बेलडाँगी रोडमा रहेको डेरानजिकै उनको ‘काजी खाजा पसल’ छ । चिटिक्कको यही पसलबाट उनी ग्राहकलाई नियमित स्वस्थकर खाजा खुवाइरहेका छन ।

हुन त विगतमा उनको पसलमा पनि आम खाजा पसल या होटलमा झैं मेनुमा मःम, चाउमिन, थुक्पा, चाउचाउ तथा कोक, फेन्टा, स्प्राइटहरू नै हुन्थ्यो । अहिले भने उनको पसलमा जंक फुड पूर्ण रूपमा निषेध छ ।

खाजाको मेनुमा छ, कोदो र फापरको रोटी, मोही, चना र जौको सातु, अंकुरिएका गेडागुडीको चटपटे अनि भाङको चिया । विगतमा जंक फुडजन्य खाजा बेच्दै गर्दा एक दिन काजीलाई लाग्यो, ‘यस्तो अखाद्य खाजाले त उपभोक्तासँगै आफ्नो पनि स्वास्थ्यमा प्रतिकूल असर पार्नेछ ।’ अन्ततः तीन वर्ष अघिदेखि उनले बिस्तारै जंक फुडलाई पसलबाट हटाउँदै लगे । गत वैशाखबाट भने पूर्ण रूपमै हटाए ।

‘मःम, चाउमिन खाँदै आएका ग्राहकको स्वाद एक्कासि बदल्न समय लाग्यो,’ काजीले सुनाए, ‘अहिले प्रायः सबैजसो ग्राहक जंक फुड छाडेर रैथाने खाजातिर आकर्षित भएका छन ।’

काजीलाई अहिले पछुतो लाग्छ, खाजाका रूपमा ग्राहकलाई लामो समय ‘स्लो पोइजन’ बेचेकामा । अरूलाई बेचेको विषले आफू पनि नमज्जाले सिकार भइरहेको कुरा जब उनले महसुस गरे तब जंक फुड निषेधको योजना बुने । ‘तीन वर्षअघि नै योजना बुने । कोक, फेन्टा, मःम हटाएँ,’ काजीले थपे, ‘चाउमिन र चाउचाउ बाँकी थियो । त्यो पनि अब चैं हट्यो ।’ २०८१ देखि रैथाने खाजा मात्रै बेच्न थाले ।

सुरुमा आँटाको सुक्खा रोटी बेच्न थाले । रोटीमा ग्राहकहरू पल्किन थाले । त्यसपछि उनले आँटाको साटो कोदो, फापर ल्याए । मोही थपे, टुसा पलाएको गेडागुडीको तरकारीसँगै कोदो, फापरको रोटीका साथमा गुन्द्रुकको चट्नी पनि समेटियो । अनि मूल्य राखियो, ५० रुपैयाँ । चना र जौको सातु, मकैको भात पनि सुरु गरे । अंकुरिएका गेडागुडी मेथी, मुङ दाल, चना, पहाडे केराउको चटपटे । ‘रैथाने खाजा सुरु गरेपछि व्यापार खस्केला भन्ने डर थियो,’ काजीले सुनाए, ‘तर व्यापार पहिलाभन्दा तेब्बर बढेर पो गयो ।’

काजीको पसलमा बिहानदेखि बेलुकासम्मै भीडभाड लागिरहन्छ । उनकामा प्रायः स्वास्थ्यप्रति सचेत ग्राहकको भीड देखिन्छ । ‘५० रुपैयाँमा स्वस्थकर खाजा पाउनु ठूलो कुरा हो,’ नियमित ग्राहक कमन देवानले भने, ‘पैसा पनि बचत, स्वास्थ्य पनि सबल ।’

ग्राहकलाई सुपथ मूल्यमा स्वस्थकर खाजा खुवाउनेबाहेक काजीको अर्काे कुनै स्वार्थ छैन । समाजलाई स्वस्थ बनाउनुपर्छ भन्ने अभियानमा जुटेका उनले दमकमा थालेको अभियान, जिल्लामा मात्रै सीमित रहेन । जिल्ला बाहिर पनि फैलन सुरु भएको छ । शनिश्चरे, बिर्तामोड, सुरुंगा र मोरङको उर्लाबारीलगायतका सहरमा रैथाने खाजा पसलप्रति ग्राहकको आकर्षण ह्वात्तै बढेको छ । ‘मौलिक उत्पादनलाई प्रवद्र्धन गर्नुपर्छ भन्ने मेरो मान्यता हो,’ उनले थपे, ‘यसले हाम्रा रैथाने उत्पादनको प्रवद्र्धनसँगै आम उपभोक्तालाई स्वस्थ बन्न सघाउनेछ ।’

अहिलेका बालबालिकामा जंक फुडले जरा गाडेको ठान्ने काजी त्यसको साटो रैथाने खानेकुरामा आकर्षित गर्न जरुरी रहेको बताउँछन् । ‘यति मात्रै गर्न सक्दा बालबालिकाको स्वास्थ्यमा हत्तपत्त समस्या आउँदैन ।’

काजीको खाजा पसलमा हाल दिनहुँ सय जनाभन्दा बढी खाजा खान आउँछन । यहाँ आउनेले कोक, फेन्टा पनि खोज्दैन, मोही माग्छन । काजीलाई पसलमा श्रीमती र छोरीले सघाउँछन । ‘स्वदेशमै बसेर ग्राहकलाई शुद्ध र स्वस्थकर खाजा ख्वाउन पाएकामा हामी सन्तुष्ट छौं,’ काजी भन्छन्, ‘योभन्दा बढी के चाहियो ?’ कान्तिपुर

 

प्रतिक्रिया:

सम्बन्धित खवर