२५ साउन, झापा । झापामा माछा पालनमा किसानहरुको आकर्षण बढेको छ । भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको तथ्यांक अनुसार जिल्लामा माछा पालनमा किसानहरुको आकर्षण बढेको हो ।
आर्थिक वर्ष २०७९/०८० मा जिल्लाभरी नौ सय ७६ घरपरिवारले माछा पालन गरेका थिए । सो तथ्यांक आर्थिक वर्ष २०८०/०८१ मा आइपुग्दा बढेर नौ सय ८१ पुगेको छ । झापामा चालू आर्थिक वर्षमा पाँच जना माछापालक किसान बढेको तथ्यांकले देखाएको छ ।
यसैगरी माछा पालन हुने जमिनको क्षेत्रफलमा पनि वृद्धि भएको छ । आ.व २०७९/०८० जिल्लाभरी कूल तीन सय ६५ दशमलव ३४ हेक्टरमा माछा पालन हुन्थ्यो भने हाल तीन सय ७० दशमलव ३४ हेक्टरमा माछा पालन भइरहेको छ ।
अघिल्लो आर्थिक वर्षको तुलनामा झापामा पोखरी संख्यामा पनि उल्लेखनीय वृद्धि भएको तथ्यांकले देखाएको छ । अघिल्लो आर्थिक वर्षमा झापा भरी दुई हजार दुई सय ९० वटा रहेको पोखरीको संख्या वृद्धि भएर दुई हजार तीन सय १६ वटा पुगेको छ ।
आर्थिक वर्ष ०७५/७६ मा जिल्लाभरी नौ सय ११ घरपरिवारले माछा पालन गरिरहेका थिए भने हाल त्यो संख्या नौ सय ६१ घर परिवारमा पुगेको छ । आर्थिक वर्ष ०७६/७७ मा नौ सय २७ घरपरिवारले गरिरहेका माछा पालन ०७७/७८ मा नौ सय ४८ घर परिवार पुगेको थियो ।
लगातार कृषकहरुको माछा पालनमा आकर्षण बढ्नु मुख्य कारण थोरै जमिनमा धेरै आम्दानी रहेको पशु ज्ञान केन्द्रको माछा विभागकी कर्मचारी केदार कुमारी अधिकारी बतानुहुन्छ ।