इलाम र देउमाई जोड्ने झोलुंगे पुल हेर्न आउनेको घुइँचो

इलाम र देउमाई जोड्ने झोलुंगे पुल हेर्न आउनेको घुइँचो


२३ साउन, इलाम । इलाम र देउमाई नगरपालिकाबीच पुवाखोलामा निर्माणाधीन झोलुंगे पुल निर्माण नसकिँदै हेर्न आउनेको घुइँचो लाग्नथालेको छ । इलाम नगरपालिका–६ र देउमाई नगरपालिका–६ वडाबीच पुवाखोलामाथि बनेको यो झोलुंगे पुल तीन सय ६६ मिटर लम्बाईको छ । खोलाभन्दा करिब डेढ सय मिटर उचाईमा रहेको पुल आफैंमा पर्यटकीय भएकाले हेर्न आउनेको भिड लागेको हो ।

दैनिक सयौं मानिस पुल हेर्न र वारिपारि गर्न आउनेगरेको स्थानीय बुद्धिमान राईले जानकारी दिए । शनिबार र सार्वजनिक बिदाका दिन हजारभन्दा बढी मानिस यहाँ आएर रमाउनेगरेको उनको भनाइ छ ।

इलाम चियाबारीबीचबाट पश्चिमतर्फ बाह्रबस्ती हुँदै सेतीदेवी मन्दिर जाने बाटामा यो पुल पर्छ । सेतीदेवी मन्दिरको नजिकै रहेको पुल निर्माण सम्पन्न भइसकेको छैन तर पनि वारपार गर्न भने सकिने भएको छ । बिदाको दिन यहाँ १० हजार रुपैयाँभन्दा बढीको त चटपटे नै विक्री हुनेगरेको एक व्यवसायी महिलाले बताइन् । ‘अरू खाजा पनि बनाउने हो भने त राम्रो बिक्ने थियो,’ उनले भनिन, ‘तर, चटपटे नै १० हजारको बेच्नुपरेपछि अरू खाजा बनाउनै भ्याइन्नँ पनि ।

प्रायः जंगल रहेको यो ठाउँमा पुल बनेर मानिसको आउ–जाउ बढेपछि सुरुमा एउटा चिया पसल खुल्यो । अहिले थपिँदै पसलको संख्या चार पुगेको छ ।

पुलमा कहिलेकाहीं भिड धेरै हुने भएकाले जोखिमसमेत हुनेगरेको छ । भिडकै कारण जोखिम बढेपछि इलाम नगरपालिकाले नगर प्रहरीसमेत खटाएर पुलमा एकै पटक धेरै मानिस चढ्न नियन्त्रण गर्नेगरेको छ । यहाँ खटिएका नगर प्रहरीले एकै पटक सयौं मानिस चढ्ने भएकाले नियन्त्रण गर्नुपरेको जनाए ।

प्रतिक्रिया:

सम्बन्धित खवर