नेपाल प्रहरीमा ‘कू’ गरेर आइजिपी बन्ने चलखेलः एआइजी ज्ञवालीमाथि कारवाही हुँदै

नेपाल प्रहरीमा ‘कू’ गरेर आइजिपी बन्ने चलखेलः एआइजी ज्ञवालीमाथि कारवाही हुँदै


२३ साउन, काठमाण्डौँ । नेपाल प्रहरीमा ‘कू’ गरेर आइजिपी बन्ने चलखेलमा लागेका एआइजी श्याम ज्ञवालीमाथि कसुरदारसँग करोडौँ लेनदेन र पदीय दुरुपयोगका पर्याप्त प्रमाण भेटिएपछि कारबाही निश्चित भएको छ ।

एआइजी टेकप्रसाद राई नेतृत्वमा गठित छानबिन समितिमा पीडितहरूबाट प्रमाणहरू समेत पेश भएको स्रोतले जनाएको छ ।

छानबिन समितिले सबै प्रमाणहरू संकलन गरेपछि उसको सिफारिसका आधारमा उनीमाथि सरकारले कारबाही गर्नेछ ।

मंगलवारको मन्त्रिपरिषद् बैठकमा गृहमन्त्री रमेश लेखकले सीआईबीका तत्कालीन प्रमुख ज्ञवालीको बदमासीको बारेमा संक्षिप्त जानकारी समेत गराउँदै उनलाई सोही ठाउँमा राख्दा प्रमाणहरू नष्ट गर्ने देखिएकाले सरुवा प्रस्ताव लगेका थिए ।

ज्ञवालीले अघिल्लो सरकारका गृहमन्त्री रवि लामिछानेका पालामा समानान्तर हेडक्वार्टर चलाएको र आइजिपी वसन्त कुँवरलाई ‘कू’ गरेर आफू आइजिपी बन्ने प्रयास गरेको आरोप समेत छ ।

यद्यपि तत्कालीन सत्ता गठबन्धनका मुख्य नेता केपी शर्मा ओलीले प्रहरीमा ‘कू’को प्रयास असफल पारेका थिए । अपराध अनुसन्धानमा अब्बल इतिहास बनाएको सीआइबीको छवि नै समाप्त हुने गरी ज्ञवालीले पदको चरम दुरुपयोग गरेको आरोप छ ।

उनीमाथि सहकारी ठगी प्रकरणका फाइल नै गायब पारेको, सुन तस्करी छानबिन रोकेर आरोपीलाई जोगाएको तथा जीवन चलाउनेलगायत कतिपयसँग करोडौँ रकम बार्गेनिङ गरेर पैसा नदिए सुन तस्करीमा फसाइदिने धम्की दिएका प्रमाण नै सार्वजनिक भएका छन् ।

त्यस्तै ज्ञवालीमाथि बालमन्दिर जग्गा हिनामिना प्रकरणका आरोपीसँग साँठगाँठ गरेको तथा बैंकिङ कसुरमा पक्राउ परेका व्यक्तिहरूसँग करोडौँ रुपैयाँसम्म लेनदेन गरेको पाइएको छ । ज्ञवालीमाथि पदको दुरुपयोग गरेका आधा दर्जनभन्दा बढी प्रकरणमा छानबिन भइरहेको जानकारी मन्त्रिपरिषद् बैठकमा गृहमन्त्रीले गराएको एक मन्त्रीले बताए ।

प्रतिक्रिया:

सम्बन्धित खवर