१३ साउन, इलाम । कोरोना महामारीको संक्रमणपछि थलिएको नेपाली तयारी चियाको अन्तर्राष्ट्रिय बजार सुध्रिँदैछ । यो वर्ष तेस्रो मुलुकमा तयारी चियाको माग उच्च रहेको व्यवसायीले बताएका छन् ।
लामो समययता अर्गानिक चिया उत्पादन गरेर विदेशमा बेचिरहेका जस्बिरेका व्यवसायी सरद सुब्बा यो वर्ष तयारी चियाको माग राम्रो आएको बताउँछन् । ‘यो साल विदेशी व्यापारीले पहिल्यै पैसा पठाएर चिया बुकिङ गरेका छन् । सुइरोबाट बन्ने चिया त मागअनुसार दिनै मुस्किल छ,’ सुब्बाले भने, ‘यो साल दुई हजार किलो स्पेसल टी माग छ तर उत्पादन कम भएकाले मैले चाहिँ हजार–१५ सय किलोमात्र दिनसक्ने छु ।’
तयारी चियाको बजारमा सुधार आएर व्यापारीले पनि राम्रै मूल्य दिएकाले सुब्बाले आफ्ना किसानलाई पनि हरियो पत्तीको मूल्य बढाएर दिएको बताए । अहिले हरियो पत्ती प्रतिकिलो ६५ देखि एक हजार छ सय रुपैयाँसम्ममा खरिद गरिरहेको उनको भनाइ छ ।
उद्योगमा विभिन्न नामका चिया उत्पादन हुन्छन् । सुब्बाले आफूले उत्पादन गरेको चियालाई कोठीडाँडा, सुनकेसरी, गोल्डेन टी, गोल्डेन हनी, ओलङ, आमा टी नाम दिएका छन् । गुणस्तर उच्च भएका यी चियाको माग विदेशी बजारमा राम्रो रहेको उनले जनाए । यो वर्ष फरक स्वादमा रेडपान्डा नाम दिएको चिया पनि उनले बेच्न थालेका छन् ।
अघिल्लो साल चीनमा आयोजित अन्तर्राष्ट्रिय टी एक्स्पोमा ग्रान्ड गोल्ड मेडल पाउन सफल इलामको फाकफोकथुमस्थित तीनजुरे चिया कारखानामा पनि यो वर्ष चियाको माग राम्रो छ । गोल्डेन, ब्याल्क र ग्रिन टीलगायत फरक गुणस्तरको २० क्विन्टल तयारी चिया फ्रान्स पठाएको कारखाना व्यवस्थापक दिनेश श्रेष्ठले बताए ।श्रेष्ठले कोरिया र नेदरल्यान्डमा पनि तयारी चियाको नमुना पठाएको बताए । यो कारखानाले गतवर्ष १३ हजार किलो तयारी चिया उत्पादन गरेको थियो ।
साखेजुङस्थित ग्रिनहिल चिया उद्योगले यो वर्ष आठ हजार किलो चिया विदेश निर्यात गरेको छ । उद्योगले तीन हजार पाँच सय किलो चिया जर्मनी निकासी गरेको उद्योग सञ्चालक टंक दाहालले बताए ।
‘मागअनुसारको गुणस्तरीय चियाको परिमाण दिन सकिएको छैन,’ उनले भने, ‘यो वर्ष हरियो पत्ती गतवर्ष भन्दा कम छ ।’ उनले पनि यो वर्ष भारतमा भन्दा तेस्रो मुलुकमा चियाको माग राम्रो रहेको जनाए । ग्रिनहिलमा गतवर्ष ५५ हजार किलो तयारी चिया उत्पादन भएको थियो । तर, यो वर्ष भने ४० देखि ४२ हजार किलोमात्र उत्पादन हुने उनको अनुमान छ ।
झापास्थित मेची भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष २०८०र०८१ मा तीन अर्ब १६ करोड ३८ लाख रुपैयाँको तयारी चिया यहाँबाट निकासी भएको छ । एक करोड ३४ लाख ३३ हजार आठ सय ५८ किलो चिया निकासी भएको कार्यालयले जनाएको छ ।