गुन्डा र लागु औषध तस्करका इनकाउन्टर स्पेसलिष्ट सई सन्जेलले फेरि पाए विशेष बढुवा

गुन्डा र लागु औषध तस्करका इनकाउन्टर स्पेसलिष्ट सई सन्जेलले फेरि पाए विशेष बढुवा


२ साउन, काठमाण्डौँ । नेपाल प्रहरीका महानिरिक्षक(आईजीपी) बसन्तबहादुर कुँवरले नायब निरिक्षक(सई) बालकृष्ण सन्जेललाई विशेष बढुवा दिएका छन् ।

प्रहरी नियमावलीअनुसार आईजीपी कुँवरले सन्जेलसहित १० जनालाई विशेष बढुवा दिएका हुन् । सई सन्जेल बरिष्ठ सईमा बढुवा भएका छन् ।

प्रहरी नियमावलीअनुसार हरेक वर्ष आईजीपीले सईसम्मका दर्जामा बढीमा १० जनालाई बढुवा गर्ने व्यवस्था रहेको छ । सन्जेल लागु औषध कारोबारी र गुन्डाहरुलाई गोली हानेर चर्चामा आइरहने प्रहरी हुन् ।

सन्जेल यसअघि पनि विशेष बढुवा पाएर जवानबाट हवल्दार, हवल्दारबाट असई र असईबाट सई बनेका थिए । लामो समय काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा काम गरेका उनी हाल लागु औषध नियन्त्रण ब्युरोमा छन् । पछिल्लो समय लागु औषध कारोबारीविरुद्ध देशभर भएका गोली प्रहारका घटनामा सन्जेल संलग्न रहेको बताइन्छ ।

२०५६ सालमा प्रहरी सेवामा प्रवेश गरेका सन्जेल २०५९ सालमा हवल्दार, २०६७ सालमा असई र २०७३ सालमा सईमा बढुवा भएका थिए । सन्जेलका अधिकांश भर्ना ब्याजीहरु असई छन् ।

सन्जेल ३३ केजी सुन वेपत्ता र भरिया सनम शाक्य हत्या प्रकरणको अनुसन्धानका क्रममा कमजोरी गरेको भन्दै तत्कालिन एसएसपी दिवेश लोहनीसहित पक्राउ परेका थिए ।

अदालतले पछि उनीहरुलाई सफाई दिएको थियो । सफाई पाएर काममा फर्किएयता सन्जेलले विशिष्ट काम गरेको भन्दै आईजिपी कुँवरले उनलाई विशेष बढुवा दिने निर्णय गरेका हुन् ।

 

प्रतिक्रिया:

सम्बन्धित खवर