२८ असार, काठमाण्डौँ । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाउँदा त्रिशूलीमा खसेका बस र यात्रुहरुको खोजी सुरु भएको छ ।
सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार बाट गएको गोताखोर सहितको टोलीले उद्धार कार्य सुरु गरेको हो ।
दुर्घटना स्थलमा सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनबाट ४५ जना र विपद् व्यवस्थापन तालिम शिक्षालयबाट ७ जना गोताखोर सहित २५ जना परिचालन भएको छ ।
आज बिहान वीरगञ्जबाट काठमाडौं आउँदै गरेको विङर गाडी र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको गणपति डिलक्स बस नदीमा खसेका थिए । दुवै बसमा ६५ जना सवार रहेको प्रारम्भिक अनुमान छ ।
गणपति डिलक्समा ३१ यात्रुः
पुरिएको गणपति डिलक्सको बसमा चालक र सहचालकसहित ३१ यात्रु रहेको खुलेको छ ।
काठमाडौंस्थित टिकट बुकिङ इञ्चार्ज दीपु कुमारका अनुसार काठमाडौंको नयाँबसपार्कबाट गौर प्रस्थान गरेको ०००१ ख २४९५ नम्बरको बसमा चालक, सहचालक र २७ यात्रु गरी जम्मा २९ जना थिए । दुई जना बीच बाटोबाट चढेका थिए । बस किशोर कुमार चौधरीले चलाएका थिए ।
बसका यात्रुहरुको विवरणमा पूरा नाम र ठेगाना भने लेखिएको छैन । नन्दन दास, राज पटेल, प्रिन्स जैशवाल र ओकिल खाँको नाम मात्र पूरा लेखेको देखिन्छ ।
यसैगरी नन्दु, अमिता, हरिचन्द्र, शम्भु, नवीन, ओम, राजकिशोर, शैलेन्द्र लगायतको नामबाट सिट बुक भएको छ ।
नन्दुको नामबाट ५ जनाको सिट बुक भएको देखिन्छ । यसैगरी शन्तु र नवीनको नामबाट ४ जनाको सिट बुक भएको छ । जोरपाटी काउन्टरका लागि ५ सिट छुट्याइएको छ । जोरपाटीबाट चढेका यात्रुहरुको नाम पनि उल्लेख छैन ।
काठमाडौंबाट गौरका लागि छुटेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौंतर्फ गइरहेको एन्जल डिलक्सका दुईवटा बसलाई आज बिहान करिब साढे तीन बजे चितवनको भरतपुर महानगरपालिका–२९ सिमताल भन्ने स्थानमा लेदो माटोसहितको पहिरोले पुरेको थियो ।
काठमाडौंबाट गौर जाँदै गरेको बसका तीन जना यात्रुहरु भने हामफालेर ज्यान जोगाउन सफल भएका छन् । अन्य यात्रुहरुको अवस्था अज्ञात छ । घटनास्थलमा खोजी र उद्धार कार्य जारी छ ।