२७ असार, इलाम । इलामको सन्दकपुर गाउँपालिकामा कृषि एम्बुलेन्स संचालनमा आएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८०।०८१ को संघीय सरकारबाट हस्तान्तरण भएको सशर्त तर्फको स्वीकृत कृषि तथा पशुपन्छी बजारीकरणको लागि कृषि एम्बुलेन्स कार्यक्रम मार्फत कृषि एम्बुलेन्स संचालनको लागि प्रस्ताव माग गरेको थियो ।
सोहि माग अनुसार माईपोखरी कृषि सहकारी संस्था सन्दकपुर ३ ले कृषि एम्बुलेन्स संचालनको जिम्मा पाएको छ । कृषि उपज सामग्री ग्रामीण क्षेत्रबाट बजारसम्म पुर्याउनका लागि सहयोग पुगोस् भन्ने हेतुले सहकारी संस्थाको सहकार्यमा संचालनमा ल्याइएको गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ्गले बताए । माईपोखरी कृषि सहकारी संस्थाको प्रस्ताव स्वीकृत गर्दै सन्दकपुर गाउँपालिकाले ७५ प्रतिशत अनुदानमा खरिद गरिएको पिकअप भ्यान गाउँपालिकाका अध्यक्ष सहितको टोलीले सहकारीलाई हस्तान्तरण गरेको हो ।
गाउँपालिकाले सुचना जारी गर्दै अधिकतम ८० प्रतिशत वा बढिमा १९ लाख ७५ हजार रुपैयाँ अनुदानमा कृषि एम्बुलेन्स (कृषि उपज ढुवानी साधन) संचालन गर्न इच्छुक कृषक समूहरकृषि सहकारीहरुबाट प्रस्ताव माग गरिएकोमा माईपोखरी कृषि सहकारी संस्थाको प्रस्ताव स्वीकृत भएको प्रमुख प्रशासकिय अधिकृत यादवव राउतले बर्ता । कृषि एम्बुलेन्स संचालन गर्न चाहनेहरुका लागि गाउँपालिकाले दूई पटक सुचना प्रकाशन गरेको थियो । २४ लाख ९९ हजारमा खरिद गरिएको पिकअप भ्यानमा गाउँपालिकाको १९ लाख ४ हजार गाउँपालिकाको अनुदान रहेको गाउँपालिका उपाध्यक्ष हरि लुङ्गेलीले बताए । कार्यविधि बनाएर संचालन हुने कृषि एम्बुलेन्सले सन्दकपुर गाउँपालिकामा उत्पादन हुने कृषि उपज, पशु र पशुजन्य उत्पादन बजारीकरणमा सहयोग पुग्ने पशु शाखा प्रमुख सविन भट्टराईले बताए ।
कृषि एम्बुलेन्स संचालन गर्न निवेदन सहित कृषक समूहरकृषि सहकारीहरुको दर्ता तथा आ.व. २०८०।८१ को नवीकरण गरेको प्रमाणपत्रको प्रतिलिपि, कार्ययोजना सहितको प्रस्ताव, स्थायी लेखा नम्बरको प्रतिलिपी, गत आर्थिक वर्षको लेखा परिक्षण र कर चुक्ता प्रमाणपत्रको प्रतिलिपी, सामुहिक निणर्यको प्रतिलिपी, प्रतिबद्दता पत्र , सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र र स्व–घोषणा पत्र पेश गर्ने व्यवस्था रहेको थियो ।
सन्दकपुर गाउँपालिका पहाडी भूगोल भएकाले सडकको कठिनाईले गर्दा किसानहरुले उत्पादन गरेको उपज बजारसम्म लगेर विक्री वितरण गर्न समस्या पर्दै आएको थियो । एम्बुलेन्स पाएपछि स्थानीय कृषकहरु उत्पादन गर्ने सामग्री विक्री नभएर बारीमै कुहाउनुपर्ने बाध्यता अन्त्य गर्न कृषि एम्बुलेन्स संचालनमा ल्याइएको गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ्गले जानकारी दिए । उपलब्ध भएको सवारीसाधन कार्यविधि बनाएर संचालन गर्ने सहकारी संस्थाकी व्यवस्थापक लिला भट्टराईले बताइन् ।