२५ असार, सुनसरी । सोमबार रातिदेखि परेको अविरल वर्षाको कारण सुनसरी र मोरङका धेरैजसो स्थान जलमग्न भएका छन् । सुनसरीको चतरा, धरान इटहरी मोरङको केराबारी लेटाङ सुन्दर हरैचामा भारी वर्षा भइरहेको छ ।
ती क्षेत्रमा लगातार भारी वर्षा हुँदा ती क्षेत्रबाट बहने खोलाहरुमा पानीको सतह खतरा भन्दा माथि पुगेको छ । सुनसरीको सेउती, सर्दु, टेङ्ग्रा र बुढी खोलामा ठूलो बाढी आएको छ ।
यस्तै मोरङको चिसाङ, लोहान्द्रा केसलीयामा पनि बाढी आएको छ । टेङ्ग्रा खोलामा आएको बाढीका कारण धरान विराटनगर सडक खण्डका ठाउँ ठाउँमा पानी सडकबाटै बगेको छ ।
बाढीका कारण कोरिडोरका अधिकांश उद्योगहरूमा पानी पसेको छ । बाढीका कारण केही उद्योग समेत बन्द भएका छन् । पानी पसेका कारण उद्योगहरूको काम समेत प्रभावित भएको छ । भारी वर्षा भइरहेकाले पानीको सतह अझै बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।