२० असार, इलाम । नेपाल मानवअधिकार वर्ष पुस्तक २०२५ का लागि इलाम जिल्लामा संकलित घटनाहरुको अर्धवार्षिक समीक्षा कार्यक्रम इलाममा सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) इलामको आयोजनामा सन् २०२४ जनवरीदेखि जुनसम्मका ६ महिनाका घटनाहरूका विषयमा सरोकारवालाहरुसँग समीक्षा कार्यक्रम गरिएको थियो ।
इन्सेकले संकलन गरेको घटनामाथि त्रुटि सच्चाउने र छुटेका घटना समावेश गर्ने उद्देश्यले अर्धवार्षिक समीक्षा कार्यक्रम गरेको बताएको छ । इलाम जिल्ला प्रतिनिधि मनोज अधिकारीले ६ महिनादेखिका घटनालाई प्रस्तुत गरे। उनका अनुसार, इन्सेकले इलाम जिल्लामा सन् २०२४ जनवरीदेखी जुनसम्म ३२ ओटा मानवअधिकार उल्लंघन र ज्यादतीका घटना अभिलेख गरेको छ ।
बलात्कारका १२ ओटा घटना रहेका छन् । ती मध्ये बालिका बलात्कारका सात ओटा र महिला बलात्कारका ५ ओटा छन् । त्यसैगरी हत्याको २ र परिवारजनबाट हत्याको एक ओटा घटना छन् । घरेलु हिंसाका सात र अभद्र व्यवहारको दश ओटा घटना इन्सेकले अभिलेख राखेको छ ।
कार्यक्रमका प्रमुख अतिथि सहायक प्रमुख जिल्ला अधिकारी महेशराज तिम्सिनाले अन्य जिल्लाको तुलनामा इलाममा मानव अधिकार उल्लङ्घनका घटना कम नै देखिएपनि घटना शुन्य बनाउनतर्फ सबै सचेत बन्नुपर्ने बताए ।
जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायव उपरिक्षक प्रकास जवेगुले इन्सेकले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएका डाटा र छलफलमा उठेका अन्य मानव अधिकारका विषयमा प्रहरी सचेत भएर अघि बढ्ने बताए ।