१२ असार, इलाम । इलाममा रैथाने खाद्य परिकार प्रदर्शनी गरिएको छ । खानाका माध्यमबाट इलाममा पर्यटक आकर्षित गर्न इलाम बजारको होटल रेडरोजमा सम्पन्न प्रर्दशनीमा विभिन्न जातजातिका मौलिक र रैथाने खानाका १४ स्टल रहको मेची पहाडी पर्यटन विकास समितिका कार्यकारी निर्देशक केशव द्यौरालीले जानकारी दिए ।
होटल एसोसिएन इलाम र नगर पर्यटन विकास समितिको आयोजना तथा उद्योग वाणिज्य संघ, महिला उद्यमी लगायत संघसंस्थाको सहआयोजना रहेको कार्यक्रमलाई पर्यटन कार्यालय झापा , इलाम नगरपालिका र केचना–कन्चनजघा पर्यटन विकास समितिको सहयोग रहेको थियो ।
प्रर्दशनीमा रैथाने खाना ढिँडो, गुन्द्रुक, मोही, चाम्रे, सोल्लर, मट्का मासु, दूधका परिकार, सेलरोटी, पोलेको आलु, नेवारी खाना, राई, लिम्बूलगायत विभिन्न जातजातिका सांस्कृतिक परिकार, भुटेको मकैलगायत रहेका थिए ।
स्थानिय मौलिक खनाका परिकारको प्रदर्शनी गरिएको कार्यक्रममा करिव ६०० मानिसले अवलोकन तथा स्थानिय रैथाने खानाको स्वाद लिएका थिए । सहभागीहरुले कार्यक्रम प्रभावकारी रहेको बताएकाले मासिक रुपमा संचालन गर्नका लाागि छलफल भएको द्यौरालीले बताए ।