११ असार, काठमाण्डौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीको नियुक्तिविरुद्ध केदार कार्कीले दायर गरेको रिट सर्वाेच्च अदालतले खारेज गरेको छ ।
मङ्गलवार सर्वाेच्च अदालतका न्यायाधीशहरू कुमार रेग्मी, डा. नहकुल सुवेदी र अब्दुल अजीज मुसलमान सम्मिलित तीन सदस्यीय पूर्ण इजलासले निवर्तमान कार्कीले दायर गरेको रिट खारेज गरेको हो ।
रिट खारेज गरेसँगै हिक्मत कार्की नेतृत्वको सरकारले निरनरता पाएको छ । संविधानको धारा १६८ उपधारा ५ बमोजिम नै यसअघि मुख्यमन्त्री बनेका केदार कार्कीलाई समर्थन दिएका सांसदहरूले समर्थन फिर्ता लिएको ३० दिनपछि प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनको आव्हान गरेका थिए ।
सर्वाेच्चले यसकारण खारेज र्गयो केदार कार्कीको रिट
सर्वाेच्च अदालतका सूचना अधिकारीका अनुसार केदार कार्कीको रिट खारेज हुनुको कारण यसरी उल्लेख गरे, ‘धारा १६८ (५) बमोजिम गठित सरकारलाई समर्थन गर्ने दल वा व्यक्तिले दिएको समर्थन फिर्ता दिएको अवस्थामा धारा १८८ (२) बमोजिम ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको देखिन्छ ।
सो बमोजिम तत्कालीन मुख्यमन्त्री केदार कार्कीले तोकिएको समयभित्र विश्वासको मत लिएको नदेखिएको अवस्थामा प्रदेश प्रमुखबाट बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई सभाको बहुमत रहेको विश्वास हुने आधारसहित मुख्यमन्त्रीको पदमा दाबी पेश गर्न आह्वान भएबमोजिम नयाँ सरकार गठन भइ विश्वासको मतसमेत प्राप्त भइसकेको देखिँदा निवेदकको रिट खारेज हुने ठहर्छ ।’