१० असार, काठमाण्डौँ । नेपालबाट सबैभन्दा बढी निर्यात हुने वस्तुहरूमा गलैँचा र पाम तथा रिफाइन्ड पाम आयल पर्दछन् । यसका साथै नेपालबाट अधिकांश निर्यात हुनेमा चिया र कफी पनि पर्दछन् ।
अहिले नेपालबाट निर्यात हुने वस्तुहरूमा सबैभन्दा राम्रो चर्चा र बजार पाइरहको वस्तु हो ‘डग च्यू’ अर्थात छुर्पी । नेपालको पूर्वी पहाडी तथा हिमाली जिल्लाहरूमा चौँरी गाई तथा गाईको दूधबाट छुर्पी तयार गरिन्छ ।
उक्त कच्चा छुर्पीलाई प्रशोधन र प्याकेज गरेर नेपालबाट विदेशी मुलुकहरूमा पठाइँदै आइएको छ । नेपालबाट यसरी प्रशोधन गरेर विदेशमा पठाइएको छुर्पीलाई ‘डग च्यू’को नामबाट चिन्ने गरिन्छ । ‘डग च्यू’लाई विदेशमा कुकुर तथा बिरालाहरूको खाने आहाराका रूपमा प्रयोग गर्ने गरिन्छ ।
नेपालबाट सबैभन्दा बढी ‘डग च्यू’ निर्यात हुने राष्ट्र अमेरिकामा हो । एकै वर्षमा नेपालले करिब साढे दुई अर्ब बढीको ‘डग च्यू’ नेपालले अमेरिकामा निर्यात गर्ने गरेको भन्सार विभागको तथ्याङ्कले देखाउँछ ।
आजभन्दा पाँच वर्षअघि नेपालबाट निर्यात हुने वस्तुहरूको तालिकाको २४ औँ स्थानमा ‘डग च्यू’ पर्दथ्यो भने अहिले उक्त निर्यात बढेर ११ र १२ औं स्थानमा आइसकेको छ ।
चालू आर्थिक वर्ष २०८०।८१ को जेठ महिनासम्म नेपालले कुल १४ खर्ब ५३ अर्ब ७० करोड ४१ लाख ९२ हजार रुपैयाँ बराबरको आयात गरेको छ ।
नेपालले १ खर्ब ३९ अर्ब २६ करोड २३ लाख ३३ हजार रुपैयाँ बराबरको निर्यात गरेको छ । पछिल्लो ११ महिनामा नेपालले २ अर्ब ९७ करोड ७५ लाख ९७ हजार रुपैयाँ बराबरको कुरकुरलाई खुवाउने आहारा ‘डग च्यू’ निर्यात गरिसकेको छ ।
गत आर्थिक वर्ष २०७९।८० मा नेपाललेले कुल १ खर्ब ५७ अर्ब १४ करोड ६ लाख ९५ हजार बराबरको वस्तु निर्यात गरेको थियो । गत वर्ष भरी नेपालले सबैभन्दा बढी ११ अर्ब ५० करोड ६६ लाख २३ हजार रुपैयाँ बराबरको गलौचा निर्यात गरेको थियो ।
त्यस्तै, नेपालले सबैभन्दा बढी निर्यात गर्ने वस्तुको रूपमा रिफाइन्ड पाम आयल रहेको छ । गत आर्थिक वर्षमा नेपालले १० अर्ब ७१ करोड ८९ लाख ५० हजार रुपैयाँको रिफाइन्ड पाम आयल निर्यात गरेको थियो ।
गत आर्थिक वर्ष २०७९र८० मा मात्रै नेपालले ३ अर्ब ४० करोड ९० लाख ७३ हजार रुपैयाँ बराबरको १७ लाख ८६ हजार ११२ केजी ‘डग च्यू’ विदेशी मुलुकहरूमा निर्यात गरेको थियो ।
गत वर्ष नेपालबाट अन्य विदेशी मुलुकहरूमा वस्तु निर्यातको तालिका हेर्दै जाँदा १३ औँ नम्बरमा नेपाली छुर्पी अर्थात ‘डग च्यू’ रहेको थियो । आर्थिक वर्ष २०८०।८१ को जेठ महिनासम्म १२ औँ स्थानमा उक्लिसकेको छ ।