२८ जेठ, झापा । दयाहाङ राई अभिनित चलचित्र ‘गाउँ आएको बाटो’ हेर्न आज दमकको डिम्याक्स सिनेमा हलमा किरात राई यायोक्खा कमल गाउपालिकाको टोली झाकी सहित आएको छ । माझ किरातको भोजपुरको बिकट गाउमा राई समुदायको एउटा परिवारले गरेको संघर्षलाई चलचित्रमा देखाईएको छ ।
चलचित्रमा किरात राई समुदायको मौलीकतालाई प्रस्तुत गरीएको हुनाले चलचित्र हेर्न यायोक्खा कमलको ३५ जनाको झाकी सहितको टोली आएको यायोक्खा कमलका अध्यक्ष सन्तोश राईले बताए । नेपाली अदिवासी समुदायको कथाहरुलाई ठुलो पर्दामा चलचित्र मर्फत हेर्न पाउदा आफुहरु उत्साहित भएको उनले बताए ।
नवीन सुब्बा निर्देशित चलचित्र ‘गाउँ आएको बाटो’ राई समुदायमा आधारित छ । ग्रामीण क्षेत्रमा भएको सडक विस्तारले राई समुदायको जीवनशैली र संस्कृतिमाथि पारेको प्रभावलाई चित्रण गरिएको छ ।
सामाजिक रहन-सहन र स्थानीयको जीवनलाई विकाससँगै भित्रिने समस्या र त्यसले पार्ने प्रभावलाई चलचित्रमा उतारिएकाले यथार्थपरक भएको समाजशास्त्री कृष्ण भट्टचनको प्रतिक्रिया छ ।
चलचित्रको कथा महेश राईले लेखेका हुन् भने आमोद राईको लगानी छ । चलचित्रमा दयाहाङ राई, पशुपति राई र प्रशन राईको मुख्य भूमिका छ ।
अन्तर्राष्ट्रिय फेस्टिभलमा समेत प्रदर्शन भइसकेको यो चलचित्र क्यानडाको टोरोन्टो फिल्म फेस्टिभल, दक्षिण कोरियाको बुसान, ब्राजिलको साउपाउलो, भारतको मुम्बईलगायत विभिन्न देशका डेढ दर्जन महोत्सवमा छनोट भएको दाबी निर्माण टिमले गरेको छ ।