नेपालीको औसत आयु ४० वर्षमा २१.५ वर्षले बढ्यो

नेपालीको औसत आयु ४० वर्षमा २१.५ वर्षले बढ्यो

२५ बैशाख । पछिल्लो ४० वर्षमा नेपालीको औसत आयु २१.५ वर्ष बढेको पाइएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले तयार गरेको राष्ट्रिय जनगणना २०७८ को जनसंख्या साक्षरता पुस्तक तथा जनसांख्यिक सूचकहरुमा उक्त तथ्य भेटिएको हो ।

राष्ट्रिय जनगणना २०७८ को जनसंख्या साक्षरता पुस्तक तथा जनसांख्यिक सूचकमा २०७८ सालसम्म नेपालीको औसत आयु ७१.३ वर्ष रहेको उल्लेख छ । पछिल्लो जनगणनाले नेपाली महिलाको औसत आयु ७३.८ वर्ष र पुरुषको औसत आयु ६८.२ वर्ष रहेको देखाएको छ । पुरुषको तुलनामा महिलाको औषत आयु ५.६ वर्ष बढी रहेको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयको तथ्याङ्कले पछिल्लो ४० वर्षमा नेपालीको औसत आयु प्रत्येक वर्ष औसतमा ०.५३ वर्षका दरले बढेको देखिन्छ । ४० वर्ष अघि नेपालीको औसत आयु कति थियो त ? राष्ट्रिय तथ्याङ्क कार्यालयले आइतबार सार्वजनिक गरेको विवरणमा ४० वर्ष अगाडि अर्थात २०३८ सालमा गरिएको जनगणनामा नेपालीको औसत आयु ४९.८ वर्ष थियो ।

२०३८ को जनगणनाले नेपाली महिलाको औसत आयु ४८.१ वर्ष र पुरुषको औसत आयु ५०.९ वर्ष देखाएको थियो । अर्थात उक्त वर्ष नेपाली महिलाको तुलनामा पुरुषको औसत आयु २.८ वर्ष बढी थियो । तर, अहिले पुरुषको तुलनामा महिलाको औसत आयु बढी भएको छ ।

जनगणनाको तथ्याङ्कले बितेको चालिस वर्षमा नेपाली महिलाको औसत आयु २५.७ वर्ष र पुरुषको औसत आयु १७.३ वर्ष बढेको देखाउँछ । उक्त अवधिमा पुरुषको भन्दा महिलाको आयु ८.४ वर्ष बढी थपिएको छ ।

२०४८ सालको जनगणनाले नेपालीको औसत आयु ५४.३ वर्ष देखाएको थियो । उक्त वर्ष पुरुषको औसत आयु ५५ वर्ष र महिलाको औसत आयु ५३.५ वर्ष रहेको थियो । महिलाको भन्दा पुरुषको औसत आयु १.५ वर्ष बढी थियो ।

२०५८ सालमा आइपुग्दा औसत आयुमा महिलाले पुरुषलाई उछिनेको देखिन्छ । २०५८ को जनगणनामा नेपाली महिलाको औसत आयु ६१.६ वर्ष र पुरुषको ६१.१ वर्ष भएको देखाएको थियो । उक्त वर्ष नेपालीको औसत आयु ६१.३५ वर्ष थियो ।

२०६८ सालमा आइपुग्दा नेपालीको औसत आयु ६६.६ वर्ष पुगेको थियो । २०६८ को जनगणनाले महिलाको औसत आयु ६८ वर्ष र पुरुषको औसत आयु ६५.४ वर्ष देखाएको थियो । उक्त वर्ष पुरुषको तुलनामा महिलाको औसत आयु २.६ वर्ष बढी थियो ।

वर्ष २०६८ देखि २०७८ सम्मको १० वर्षको अवधिमा महिलाको औसत आयु ५.८ वर्षले थपिँदा पुरुषको आयु मात्र २.८ वर्षले बढेको छ । २०७८ को जनगणनाले नेपालका सात प्रदेशमध्ये सबैभन्दा बढी औसत आयु कर्णाली प्रदेशमा रहेको देखाएको छ । कर्णालीमा औसत आयु ७२.५ वर्ष रहेको छ ।

२०७८ को जनगणनाअनुसार औसत आयु वाग्मती प्रदेशमा ७२.४ वर्ष, गण्डकी प्रदेशमा ७२.१ वर्ष, मधेस प्रदेशमा ७१.८ वर्ष, सुदूरपश्चिम प्रदेशमा ७१.३ वर्ष, कोसी प्रदेशमा ७०.४ वर्ष र सबैभन्दा कम लुम्बिनी प्रदेशमा ६९.५ वर्ष रहेको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर