बिर्तामोड नगरद्वरा कृषकहरुलाई ६ सय ७५ वटा बाख्रा वितरण

बिर्तामोड नगरद्वरा कृषकहरुलाई ६ सय ७५ वटा बाख्रा वितरण

२५ बैशाख । बिर्तामोड नगरपालिकाले कृषकहरुलाई ६ सय ७५ वटा बाख्रा वितरण गरेको छ । नगरले आर्थिक वर्ष २०७४र०७५ देखि हालसम्म नगरको मेयर पकेट प्याकेज कार्यक्रम अन्तर्गत महिला कृषकहरुलाई बाख्रा वितरण गर्दै आएको हो । त्यस यता १९ वटा उन्नत बोयर जातको बिउ बोकासमेत वितरण गरिएको जनाइएको छ।

नगरको पशुपंछि तथा मत्स्य विकास शाखा प्रमुख सावित्रा दाहालले यस अवधिमा १५ वटा महिला कृषक समूहका २ सय २५ जना सदस्यलाई बाख्रा वितरण गरेको जानकारी दिनुभयो । नगरले बाख्रा दिएपछि खोर पनि निर्माण गरिदिने गरेको छ । आर्थिक वर्ष २०७४र०७५ यता २ सय २५ वटा खोर निर्माण गरेको नगरले जनाएको छ ।

नगरले सुरुवातमा २ लाख ६५ हजार लगानी गरेर बाख्रा खरिद गरी मेयर पकेट अन्तर्गत बाख्रा साटासाट कार्यक्रमलाई अघि बढाएको थियो । यस कार्यक्रम अन्तर्गत बाख्रा प्राप्त गर्न एउटा महिला कृषक समुहमा १५ जना अनिवार्य छ । समूहका सबै सदस्यलाई तीन तीन वटाको दरले बाख्रा वितरण हुन्छ । बाख्रा प्राप्त गरीसकेपछि अर्काे वर्ष समूहका सबैले तीन तीन वटाकै दरले बाख्रा नगरलाई बुझाउनु पर्छ । यसरी प्राप्त गरेको बाख्रा फेरी नगरले बाख्रा माग गर्ने महिला कृषकहरुलाई वितरण गर्छ ।्

नगरले बाख्रा वितरण गरेपछि खोर निर्माणसंगै विमा, खोप, सिजनको घाँस र औषधी उपचारमासमेत सहयोग गर्दै आएको शाखा प्रमुख दाहालले जानकारी दिनुभयो ।

सोहि कार्यक्रम अन्तर्गत नगरपालिकाले सोमबार बिर्तामोड २ को ओम नवज्योती कृषक समूहका महिलाहरुलाई ४५ वटा बाख्रा वितरण गरेको छ । बिर्तामोड ८ को जीवन आधार कृषक महिला समूहले जिम्मा लगाएको ४५ वटा बाख्रा नवज्योतीलाई वितरण गरिएको हो । नगर प्रमुख पवित्रा महतारा प्रसाईले समूहलाई बाख्रा हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले कृषक महिलाहरुको आर्थिक जीवनस्तर उकास्न सघाउ पुर्याउने उदेश्यले वाख्रा वितरण गरिँदै आएको बताउनु भयो । उहाँले बाख्रालाई राम्रो घाँस पानी गरेर मनग्य आम्दानी गर्न सकिने भन्दै मेहनत गर्न आग्रह गर्नुभयो ।

यस्तै वडाअध्यक्ष किशोर कुमार पौडेलले बाख्रा वितरण कार्यक्रम प्रभावकारी भएको बताउनु भयो । बिर्तामोड नगरपालिका खसीको मासुमा आत्मनिर्भर बनेको भन्दै थप बजारीकरणको लागी उत्पादनमा जोड दिन आग्रह गर्नुभयो । थप अन्य समूहलाई पनि बाख्रा वितरणको तयारी भइरहेको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर