गृहमन्त्री लामिछाने भन्छन्- ‘उपनिर्वाचनमा पैसा बाँड्न गाउँ छिर्नेलाई निर्मम कारवाही गछौँ’

गृहमन्त्री लामिछाने भन्छन्- ‘उपनिर्वाचनमा पैसा बाँड्न गाउँ छिर्नेलाई निर्मम कारवाही गछौँ’

९ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उपनिर्वाचनमा पैसा बाँड्ने जुनसुकै दलका नेता कार्यकर्तालाई निर्मम कारवाही गरिने बताएका छन् ।

इलामको फाककफोमथुम गाउँपालिकास्थित आमोचकमा शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले उपनिर्वाचनको मौन अवधिमा भोट किन्न पैसाको पोको बोकेर गाउँ छिर्ने जो कोहीलाई कडा कारवाही गरिने बताए ।

उनले पैसा बाँड्न आउनेको फोटो खिचेर पठाए २४ घण्टाभित्र कारवाही गर्ने बताए । ‘मौन अवधिमा धेरै पैसाको चलखेल हुन्छ, यदि कसैले पैसा दिन खोज्यो भने साइटबाट फोटो खिचेर गृह मन्त्रालयमा पठाइदिनुहोला,’ उनले भने, ‘२४ घण्टाभित्र त्यसलाई कारवाही गर्छौं ।’

उनले गाउँगाउँमा पैसा बाँड्दै हिँडेर इलामको भविष्य किन्न खोज्नेलाई सार्वजनिक गरेर आम नागरिकसामू चिनाउने काम गर्नुपर्ने बताए । ‘सुरक्षाकर्मी साथीहरु यही हुनुहुन्छ, कतिजना त पछि पनि यही हुनुहुन्छ होला, चोकचोकमा खटिनुहोला, नागरिकलाई सचेत गराउनुहोला, पैसाको पोको बोकेर गाउँ छिर्नेहरुलाई त्यही पोकोमा पोको पारेर हिरासतमा पठाइदिनुहोला’ उनेले सुरुक्षाकर्मीलाई निर्देशन दिदैँ भने, ‘त्यसका लागि कतिवटा गाडी चाहिन्छ, गृह मन्त्रालयमा भन्नुहोला, देशको भविष्य पैसामा किन्न खोज्नेहरुलाई निर्मम कार्वाही गर्नुपर्छ ।’

लामिछानेले रास्वपाले एउटा उम्मेद्वार जिताउन मात्र इलाम नआएको दावी गर्दै इलामलाई जिताउन र आम इलामेली नागरिकलाई जिताउन चुनावी घरदैलोमा आएको बताए । उनले इलाम र इलामेलीको सुन्दर भविष्य बनाउन भाषणमात्र होइन, काम गर्ने व्यक्तिलाई जिताउन ‘घण्टी’ चिन्हमा मतदान गर्न अपिल गरे ।

‘तपाइहरुले आफ्नो पार्टी छोड्नु पर्दैन, मात्र मत परिवर्तन गर्नुहोस्, इलाम र इलामेलीको भाग्य र भविष्य बनाउन ‘घण्टी’ चिन्हमा मतदान गरी मिलन लिम्बूलाई जिताएर पठाउनुहोस्,’ उनले भने, ‘यदि मिलन लिम्बूले काम गर्नुभएन भने अर्कोपटक हामीलाई मत नदिनुहोस्, रास्वपा निशेधित क्षेत्र घोषणा गर्नुहोस्, तर एक पटक जिताएर त हेर्नुहोस् ।’ उनले टिङटिम बज्ने घण्टीलाई भ्रष्टाचारीको मुटु काँप्नेगरी ढ्याङढ्याङ बजाउन आवश्यक रहेको बताए ।

रास्वपाले इलाम-२ मा पत्रकार मिलन लिम्बूलाई उम्मेद्वार बनाएको छ । रास्वपाको टोलि अहिले चुनावी घरदैलोमा छ । २०८४ को निर्वाचनलाई समेत यो उपनिर्वाचनको जितहारले अर्थ राख्ने भन्दै रास्वपाले इलामको जित निकाल्ने सक्दो प्रयास गरिरहेको छ । आउँदो वैशाख १५ गते इलाम(२ मा उपनिर्वाचन हुँदैछ ।

प्रतिक्रिया:

सम्बन्धित खवर