किशोर अवस्थामै प्रेमीप्रेमिकाबीच असुरक्षित यौनसम्पर्क राख्दा बाँझोपनाको समस्या हुन्छ

किशोर अवस्थामै प्रेमीप्रेमिकाबीच असुरक्षित यौनसम्पर्क राख्दा बाँझोपनाको समस्या हुन्छ

३० चैत, झापा । बाँझोपना अर्थात निःसन्तानको समस्या पछिल्लो समय बढिरहेको यसका विज्ञ चिकित्सक तथा जानकारहरुले औँल्याएका छन् । जीवनशैलीमा आएको परिवर्तन, विवाह ढिलो गर्नु, वैदेशिक रोजगारका कारण दम्पतीबीच पर्याप्त सम्भोगको अभाव र कतिपय दम्पत्तीको स्वास्थ्यका कारण निःसन्तानको समस्या देखिएको चिकित्सकहरुको भनाइ छ ।

दमकमा विगत १६ वर्षदेखि महिलाको प्रसूति सेवा दिँदै आएको ॐ मेची अस्पतालका स्त्रीरोग विशेषज्ञ डा.शङ्करप्रसाद हुजदार निःसन्तान हुने समस्या बढेको बताउनुहुन्छ । उहाँका अनुसार सरदर १० देखि १४ प्रतिशत जोडीमा निःसन्तानको समस्यादेखिने गरेको छ । तीमध्ये करिब सात प्रतिशतमा भने निःसन्तानको समस्या अर्थात बाँझोपनाका कारण नै पत्ता लाग्न नसकिरहेको हुजदारले सुनाउनुभयो ।

उहाँले स्वास्थ्यका दृष्टिकोणबाट सबै ठिकठाक हुँदाहुँदै पनि सन्तान नहुने समस्या देखिएको र त्यसका कारण यही नै हो भन्ने यकीन अझै नहुन नसकेको बताउनुहुन्छ । यो अलि अप्ठ्यारो विषय पनि भएको बताउँदै उहाँले भन्नुभयो, “दम्पतीमा निःसन्तान हुने समस्या नेपाली समाजमा बढेको छ, यसमा हाम्रो ध्यान पुग्न सकेको छैन ।” ॐ मेची अस्पताल प्रसूति सेवामात्र उपलब्ध गराउँदै आएको जिल्लाकै एक पुरानो स्वास्थ्य संस्था हो ।

सो अस्पतालमा डा हुजदारसहित अर्का स्त्रीरोग विशेषज्ञ डा निरञ्जनसिंह बोगटीसहितका आधा दर्जन चिकित्सकको टोली संलग्न छ । सो अस्पतालले मासिक पाँच सय सङ्ख्यामा प्रसूति सेवा दिँदै आएको अस्पतालका अध्यक्षसमेत रहेका डा बोगटी बताउनुहुन्छ । उहाँका अनुसार परीक्षणमा आएका करिब १५ प्रतिशत जतिमा दम्पतीमा बाँझोपनाको समस्या देखिएको छ ।

जीवनशैलीमा आएको परिवर्तन, पत्रुखानाको सेवन, मदिरापान, सुर्तिजन्य पदार्थको सेवन र असुरक्षित यौनसम्पर्कका कारण पनि महिला तथा पुरुषमा बाँझोपनाको समस्या देखिएको बताउनुभयो । किशोर अवस्थामै प्रेमीप्रेमिकाबीच असुरक्षित यौनसम्पर्कका कारण पटकपटक गर्भ तुहाउने, यौन रोगलगायतका स्वास्थ्य समस्याले पनि बाँझोपना देखिएको उहाँको भनाइ छ ।

उहाँले सन्तान जन्माउने उमेरमा बिहे नगर्ने चलन बढ्दै जानु र उमेर ढल्किँदा बिहे गर्ने कारणले पनि दम्पतीबीच बाँझोपनाले निःसन्तानको समस्या आएको हुनसक्ने बताउनुभयो । निःसन्तानको समस्या न्यूनीकरण गर्न बाँझोपनाको समस्या झेल्दै आएका अभिभावकले स्वास्थ्य उपचारमा जोड दिनुपर्ने बोगटी बताउनुहुन्छ ।

निःसन्तान हुन कसैको दोष नभएर आफ्नै समस्याका कारण यस्तो समस्या हुँदै आएको भए पनि अब भने निःसन्तान हुनु नपर्ने तथा स्वास्थ्य उपचारका वैकल्पिक उपाय अवलम्बन गर्न सकिने उहाँको भनाइ छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर