२७ चैत । अल–नासारलाई पराजित गर्दै अल–हिलाल साउदी सुपर कपको फाइनलमा प्रवेश गरेको छ।
मोहम्मद बिन जायद स्टेडियममा सोमबार राति सम्पन्न सेमिफाइनलमा १० खेलाडीमा सिमित नासारलाई २–१ गोल अन्तरले पराजित गर्दै हिलाल उपाधिनजिक पुगेको हो।
हिलालको जितमा अल–डावसरी र माल्कमले गोल गरे। नासरको लागि साडियो मानेले १ गोल फर्काए।
खेलको ६१औँ मिनेटमा डावसरीले घरेलु टोलीलाई अग्रता दिलाएका थिए। ७२औँ मिनेटमा माल्कमले अग्रता दोब्बर बनाए।
८६औँ मिनेटमा नासारका कप्तान क्रिस्टियानो रोनाल्डो रातो कार्ड पाउँदै मैदानबाट बाहिरिए। हिलालका खेलाडीलाई मुखमा कुहिनाले प्रहार गरेपछि उनलाई रेफ्रीले सिधै रातो कार्ड देखाएका थिए।
दोस्रो हाफको इन्ज्युरी समयको नवौँ मिनेटमा मानेले गोल गरेका थिए। तर, उनको गोलले नासारलाई फाइनल पुर्याउन सकेन।