लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा जोखबहादुर महराको दाबी

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा जोखबहादुर महराको दाबी

२३ चैत । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र)को संसदीय दलका नेता जोखबहादुर महराले दाबी प्रस्तुत गरेका छन् । सत्ता साझेदार दलहरूको बैठकले बिहीबार नै महरालाई मुख्यमन्त्रीमा दाबी पेसका लागि अघि बढाउने निर्णय गरेको थियो ।

शुक्रबार ४४ सांसदको हस्ताक्षरसहित महराले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दाबी पेस गरेका हुन् । मुख्यमन्त्री नियुक्तिको लागि महराले एमाले, माओवादी, एकीकृत समाजवादी, जसपा र स्वतन्त्रसहित ४४ सांसदको समर्थन पेस गरेका हुन् । लुम्बिनीमा चार सांसद रहेको नागरिक उन्मुक्ति पार्टीले भने गठबन्धन सरकारलाई समर्थन दिएको छैन । केन्द्रमा राजनीतिक समीकरण फेरिएसँगै फागुन २२ मा माओवादी मन्त्रीहरूलाई बर्खास्त गरी अल्पमतमा रहेका यसअघिका मुख्यमन्त्री डिल्ली चौधरीले बुधबार राजीनामा दिएका थिए ।

चौधरीको राजीनामापछि प्रदेश प्रमुख शेरचनले आजै तीन दिनको समय दिएर संविधानको धारा १६८ (२) अनुसार सरकार गठनका लागि आह्वान गरेका थिए । आह्वान लगत्तै महराले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । लुम्बिनी प्रदेशसभामा एमालेका २९, कांग्रेसका २७, माओवादीका १०, नागरिक उन्मुक्तिका चार सांसद छन् । राप्रपा, जनता समाजवादी र लोकतान्त्रिक समाजवादीका तीन–तीनजान सांसद रहेको लुम्बिनी प्रदेशमा राष्ट्रिय जनमोर्चा र नेकपा (एकीकृत समाजवादी)का एक–एक सांसद छन् । एकजना सांसद स्वतन्त्र निर्वाचित छन् ।

८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा बहुमतका लागि चाहिने न्यूनतम ४४ मतसहित महराले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । महरा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी सचिवालयमा समेत बसेर काम गरेका व्यक्ति हुन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर