हाइड्रोजन उत्पादनको परीक्षणमा काठमाडौं विश्वविद्यालयले पायो सफलता

हाइड्रोजन उत्पादनको परीक्षणमा काठमाडौं विश्वविद्यालयले पायो सफलता

१८ चैत । काठमाडौं विश्वविद्यालयले नेपालमै पहिलो पटक हाइड्रोजन उत्पादनको परीक्षणमा सफलता पाएको छ । करिब २ वर्ष अध्ययन र अनुसन्धान गरेर विश्वविद्यालयले आज हाइड्रोजन रिफिलिङ स्टेसनको परीक्षण गर्न सफल भएको हो ।

विश्वविद्यालयले नै नेपालमा पहिलो पटक ८ महिनाअघि हाइड्रोजन कार ल्याएको थियो । त्यही कारमा आज विश्वविद्यालयले हाइड्रोजन रिफिलिङ स्टेसनबाट कारमा हाइड्रोजन कारमा राखिएको हो । यो कारमा इन्धनको रुपमा डिजेल र पेट्रोल प्रयोग हुँदैन । सो कारमा इन्धनको रुपमा हाइड्रोजन प्रयोग हुन्छ ।

काठमाडौं विश्वविद्यालयका नेपाल हाइड्रोजन इनिसियटिभ्सका परियोजना प्रमुख तथा एसोसिएट प्रा. डा. विराजसिंह थापाले स्टेसनको सबै परीक्षण सम्पन्न भएपछि कारमा हाइड्रोजन हालिएको बाताए ।

उनले भने, ‘२ वर्षको अध्ययनपछि नेपालमा पहिलो पटक हाइड्रोजन उत्पादन र भण्डारणमा सफलता मिलेको छ । हामीले हाइड्रोजन कारमा हाइड्रोजन हालिसकेका छौं । हाइड्रोजन नेपालकै जलविद्युत र पानी प्रशोधन गरेर तयार परिएको हो । अध्ययनमा करिब २ देखि ३ करोड खर्च गरेका छौं । यस कार्य सफल गर्नु सगरमाथा चढ्नु सरहको अनुभव रहेको छ । हाइड्रोजन युगमा नेपाललाई प्रवेश गराएको छ । विश्वविद्यालयले २० देखि २५ गाडीहरुलाई प्रत्यक दिन रिफ्युल गर्न सक्ने पाइलट स्केलको व्यवसायिक रिफल स्टेशन डिजाइन गर्ने छ । मेन्युफ्याक्चरीङ कम्पनीहरुसँग पनि संवादमा छौं । यसलाई चाँडै प्रधानमन्त्रीज्युको हातबाट उद्घाटन गर्नेछौं । अब हुने लागेको हाइड्रोपन एक्पो २०२४ मा यसलाई समावेश गराउने छौं । राष्ट्र प्रमुखहरुले यस्तो गाडी प्रयोग गरे नेपालले यसलाई स्वीकार्छ भन्ने सन्देश प्रवाह हुन्छ ।’

अझै पनि नेपालमा हाइड्रोजनलाई कानूनी स्वीकार गरेको छैन । कार्यविधि पनि तयार नभएको थापाले बताए ।

विश्वविद्यालयले अहिले ५ केजी हाइड्रोजन रिफिलिङ स्टेसन बनाएको हो । व्यापारिक प्रयोजनका लागि भने ३० केजीभन्दा माथिको रिफिलिङ स्टेसन आवश्यता पर्नेछ ।

प्रतिक्रिया:

सम्बन्धित खवर