आईसीसी अध्यक्ष ग्रेग बार्क नेपालमा, आज प्रधानमन्त्री र खेलकुदमन्त्रीसँग भेटवार्ता गर्दै

आईसीसी अध्यक्ष ग्रेग बार्क नेपालमा, आज प्रधानमन्त्री र खेलकुदमन्त्रीसँग भेटवार्ता गर्दै


७ चैत, काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अध्यक्ष ग्रेग बार्क तीन दिनदेखि नेपालमा छन् । नेपाल क्रिकेट संघ (क्यान) को निमन्त्रणामा उनी चार दिवसीय भ्रमणका लागि सोमबार आएका हुन् ।

विश्व क्रिकेटको सर्वाेच्च संस्था आईसीसीका अध्यक्ष नेपाल आएको यो पहिलोपटक हो । क्यानले धेरै समयदेखि उनलाई नेपालमा ल्याउन प्रयास गरिरहेको थियो ।

पटक–पटक आग्रह गरिएपछि बार्कले समय मिलाउन सकेका थिएनन् । पछिल्लो पटक भारतको विश्वकपपछि नेपाल आउने उनले बताएका थिए । तर, आएनन् । अहिले भने उनी महिला क्रिकेट लिगको सन्दर्भमा भारत आएका बखत नेपाल भ्रमणको चाँजो मिलेको हो ।

नेपालले सन् २०२७ मा यू१९ महिला विश्वकपको सह आयोजना गर्दैछ । दुई वर्षअघि नै उक्त प्रतियोगिताको मुख्य आयोजकमा बंगलादेश र सह आयोजकका रूपमा नेपाल छानिएका थिए । विश्वकपका केही खेलहरू नेपालमा हुने छन् ।

पहिलो पटक क्रिकेटको ग्लोबल इभेन्ट आयोजना गर्न लागेको हुँदा आईसीसीले नेपालको पूर्वाधारमा चासो दिएको छ । ब्राकको भ्रमणको मुख्य उद्देश्य पनि ग्राउन्ड लगायतका पूर्वाधारको अवलोकन भएको क्यान बताउँछ ।

नेपाल आएपछि बार्कले हिजो टीयू ग्राउन्ड र मुलपानी क्रिकेट मैदानको अवलोकन गरेका छन् । क्यानका पदाधिकारीहरूले उनलाई दुवै मैदानमा र्पुयाएका थिए । बार्कले क्यानको टीमसँग लामो छलफल पनि गरेका छन् ।

छलफलमा उनले नेपालले क्रिकेटमा गरिरहेको प्रगतिलाई लिएर खुशी व्यक्त गर्दै आफ्ना सल्लाह(सुझावहरू दिए । क्यानले विगतमा निलम्बनमा पर्दा रोकिएको फन्ड उपलब्ध गराउन पनि आग्रह गरेको स्रोतले बतायो ।

बार्कले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्दैछन् । यसै गरी, खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ, खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङलगायतसँग पनि भेटघाटको कार्यक्रम छ । उनी भोलि फर्किनेछन् ।

पछिल्लो समयमा नेपालको राष्ट्रिय टीमले गरेको प्रगति सँगै नेपाल विश्व क्रिकेटको नजरमा पर्न थालेको छ । खासगरी नेपालको अद्भुत फ्यान फलोइङ र देशको प्राकृतिक सुन्दरताले आईसीसी पनि प्रभावित बनेको क्यानका सदस्य दुर्गाराज पाठक बताउँछन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर