२९ फागुन । इस्लाम धर्मावलम्वीको महान् पर्व रमजान मुबारक महिना आजदेखि सुरु भएको छ । एक महिनासम्म चल्ने यस पर्वमा मुसलमानहरु दिनभर निराहार बस्ने गर्दछन् ।
रोजा बस्न बिहान तोकिएको समय अगावै र बेलुका तोकिएको समयपछि आहार लिइन्छ । उर्दू पात्रोअनुसार हिजरी सम्बत्को रमजान नवौँ महिना हो । रमजानमै मुसलमानहरुको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यस महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास लिइन्छ ।
दान गर्न, गरिब र दीन दुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो । रमजान व्रत बस्न साँझ मुसलमानहरुले चन्द्रमा हेर्ने प्रचलन छ ।
शरीरलाई शुद्ध राखेर मात्र रोज बस्नुपर्छ भन्ने मान्यता छ । त्याग, तपस्या र बलिदान सबै जोडिने यस पर्वमा मुसलमानहरु रोजा बस्नुलाई गर्व गर्दछन् । नाबालक, बिरामी, जटिल रोग लागेका र गर्भवतिलाई रोजा बस्न अनिवार्य गरिएको छैन ।