२३ फागुन । पेरिस सेन्ट जर्मेन पीएसजी र बायर्न म्युनिख च्याम्पियन्स लिग फुटबलको अन्तिम ८ मा प्रवेश गरेका छन् ।
मंगलबार राति पीएसजीले रियल सोसिडाड र बायर्नले लाजियोलाई हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएका हुन् ।
अन्तिम १६ को दोस्रो लेगको खेलमा पीएसजीले रियल सोसिडाडलाई २–१ ले हरायो ।
एमबाप्पलेले १५ औं र ५६ औं मिनेटमा गोल गर्दै पीएसजीलाई २–० को अग्रता दिलाएका थिए । मिरिनोले खेल सकिन एक मिनेट बाँकी छदाँ सोसिडाडका लागि एक गोल फर्काए ।
पीएसजी समग्रमा ४–१ को नजिता सहित अन्तिम ८ मा प्रवेश गर्याे ।
दोस्रो लेगको खेलमा बायर्नले लाजियोलाई ३–० ले हरायो । ह्यारी केन र थोमस मुलरको गोलमा बायर्नले दोस्रो लेगमा सहज जित निकाल्यो ।
केनले ३८ औं मिनेटमा बायर्नलाई अग्रता दिलाएका थिए । मुलरले पहिलो हाफको इन्जुरी समयमा बायर्नको अग्रता दोब्बर बनाउने काम गरे । खेलको ६६ औं मिनेटमा केनले बायर्नका लागि तेस्रो गोल गरेका थिए ।
बायर्न समग्रमा ३–१ को नतिजा सहित क्वार्टरफाइनल प्रवेश गरेको छ ।
क्वार्टरफाइनलको ड्र मार्च १५ मा हुनेछ ।