२२ फागुन, काठमाडौं । टी ट्वान्टी त्रिकोणात्मक सिरिजको उपाधि नेदरल्याण्ड्सले जितेको छ । मंगलबार कीर्तिपुर मैदानमा नेपाललाई ४ विकेटले हराउँदै नेदरल्याण्ड्सले सिरिज जितेको हो ।
नेपालले प्रस्तुत गरेको १ सय ८५ रनको लक्ष्य नेदरल्याण्ड्सले मात्र ६ विकेट गुमाएर ३ बल अगावै पुरा गर्याे । माइकल लेविटको शानदार अर्धशतकमा नेदरल्याण्ड्सले नेपालमाथि जित हासिल गरेको हो । लेविटले २९ बलमा ५४ रन बनाए । उनले ६ चौका र ३ छक्काको मदतले सो रन बनाएका थिए । साइब्रान्ट एन्गेलब्रेक्टले ४८ रनको योगदान गरे । बिक्रमजीत सिंहले २९ र मेक्स ओडाडले २२ रन बनाए ।
नेपालका कुशल मल्लले ४ विकेट लिए । दीपेन्द्र सिंह ऐरी र अविनाश बोहोरोले समान एक एक विकेट हात पारे ।