१६ फागुन, काठमाण्डौँ । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभाको अध्यक्ष पद नछाड्ने निर्णय लिएपछि नेपाली कांग्रेस झस्किएको छ ।
अध्यक्षमा कांग्रेसका कृष्णप्रसाद सिटौलाको नाममा सहमति बनेको चर्चा छ । तर, अध्यक्ष छाड्न नहुने भन्दै बैठकमा नेताहरुले चर्काे दबाब बढाएपछि प्रधानमन्त्रीसमेत रहेका माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुनै सहमति नभएको प्रष्टीकरण दिए ।
बैठकमा सहभागी एक नेताका अनुसार राष्ट्रियसभाको अध्यक्षको अडान छाड्नुहुन्न भन्ने सबै नेताहरुले प्रचण्डलाई भनेको र नेताहरुको दबाबपछि उनले सहमति भएको छैन भनेको बताए । त्यस सहमतिमा पनि कांग्रेसबाट विगतमा धोका खाने गरेको बताउदै राष्ट्रियसभाको अध्यक्ष पद नछाड्ने उनले बताए ।
बैठकको निष्कर्ष सुनाउँदै प्रवक्ता अग्निप्रसाद सापकोटाले पनि राष्ट्रियसभाको अध्यक्षमा आफ्नै उम्मेदवार उठाउने निर्णय भएको बताए । उनले अध्यक्षको विषयलाई लिएर गठबन्धनमा कुनै समस्या नपर्नेसमेत बताए ।
माओवादीको निर्णयपछि कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले माओवादीले राष्ट्रियसभाको अध्यक्षमा आफ्नो उम्मेदवार उठाउने भनेर निर्णय गर्नु स्वाभाविक भएको बताए ।
उनले अब कांग्रेसले चाँडै नै कार्यसम्पादन वा पदाधिकारीको बैठक बसेर कांग्रेसको तर्फबाट निर्णय लिने सुनाए । राष्ट्रियसभाको अध्यक्षका कारणले गठबन्धन नै फेरिने तहमा नपुग्ने उनले दाबी गरे ।