१६ फागुन, सुनसरी । सुनसरी कोसी गाउँपालिका–१ स्थित राष्ट्रिय माध्यमिक विद्यालय लौकहीका तत्कालीन प्रधानाध्यापक धनीलाल यादवसहित चार जनाविरुद्ध आज भ्रष्टाचार मुद्दा दायर भएको छ।
प्रधानाध्यापक यादवविरुद्ध रु ६४ हजार नौ सय भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले बताए। खुला कोटाअन्तर्गत न्यूरो मेडिकल कलेज विराटनगर मोरङमा शैक्षिक वर्ष २०७५-०७६ देखि तीन वर्षे अध्ययन अवधिमा विद्यालयमा अनुपस्थित भएको अवधिको तलब भत्ता सुविधा लिएका शिक्षक बालेश्वर यादवविरुद्ध रु एक लाख ३० हजार ८४३ भ्रष्टाचार मुद्दा दायर भएको उनले जानकारी दिए।
तत्कालीन प्रधानाध्यापक धनीलाल जिम्मेवारीमा रहँदा शिक्षक बालेश्वर यादव अध्ययनरत रहेको अवधिमध्ये मिति २०७५ साल असोजदेखि २०७६ साल फागुनसम्मको विद्यालय तथा गाउँपालिकाको कार्यालयसमेतको फर्जी हाजिरी ३५ दिन र गाउँपालिकाको कार्यालयमा काज कार्यरत रहँदा गयल रहेको अवधि ३७ दिनको ६४ हजार नौ सय रुपैयाँ भुक्तानी दिएको आरोप लागेको छ।
त्यसैगरी, यादव प्रधानाध्यापक पदको जिम्मेवारीमा रहँदा शिक्षक बालेश्वर यादव विसं २०७७ माघदेखि २०७८ कात्तिकसम्म ३४ दिन फर्जी हाजिरी गराई रु ३३ हजार ६१८ तलब भत्ता दिलाएको आरोप लागेको आयोगको विज्ञप्तिमा उल्लेख छ।
यसैगरी, वीरेन्द्रप्रसाद यादवले प्रधानाध्यापकको पदमा रहँदा २०७८ मङ्सिरदेखि फागुनसम्मको २२ दिन फर्जी हाजिरी गराएको र मङ्सिरमा गयल रहेको अवधि १० दिनको गरी रु ३२ हजार ३२४ शिक्षक बालेश्वरलाई गैरकानुनी लाभ दिलाइ भुक्तानी दिएको पुष्टि भएको आयोगले जनाएको छ।