इलामको फाकफोकथुममा ज्ञानदिलदास सम्मेलन सम्पन्न

इलामको फाकफोकथुममा ज्ञानदिलदास सम्मेलन सम्पन्न


१३ फागुन, इलाम । इलामको फाकफोकथुम गाउँपालिकामा ज्ञानदिलदास सम्मेलन सम्पन्न भएको छ । सन्तकवि ज्ञानदिलदासको जन्मभूमि फाकफोकथुम आमचोकलाई धार्मिक र पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न फाकफोकथुम गाउँपालिकामा साहित्य सम्मेलन सुरु भएको थियो ।

सन्तकवि दासको जन्मभूमिलाई धार्मिक र पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न गाउँपालिकासहित त्यस क्षेत्रका स्थानीय बासिन्दा लागिपरेका छन् । ज्ञानदिलदासको जन्मभूमि आमचोकको पहिचानसहित उनले नेपाली साहित्य, समाज सुधार र धार्मिक क्षेत्रमा गरेको योगदानको प्रचारप्रसार गर्ने उद्देश्यले शुक्रबार देखि दुई दिने ज्ञानदिलदास साहित्यिक सम्मेलन सुरु भएको थियो ।

ज्ञानदिलदास साहित्यिक सम्मेलन मूल समारोह समितिको आयोजनामा सुरु भएको सम्मेलनको पहिलो दिन शुक्रबार ज्ञानदिलदासको नाममा स्थापित मन्दिरको उद्घाटन र ज्ञानदिलदासको सालिक अनावरण भएको छ । फाकफोकथुम गाउँपालिका अध्यक्ष दिपेन्द्र खनालले मन्दिरको उद्घाटन र सालिक अनावरण गरे ।

आमचोकलाई नेपालकै धार्मिक र पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न थालेको गाउँपालिका अध्यक्ष दिपेन्द्र खानालले बताए । उनले भने,‘अहिले हामीले यस क्षेत्रको संरक्षण र प्रवद्र्धन गर्न ज्ञानदिलदासको सालिक र मन्दिर निर्माण गरेका छौं’ ‘आगामी दिनमा यस क्षेत्रलाई देशकै धार्मिक र पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न अन्य पूर्वाधारनिर्माणका लागि योजना बनाएरै कामहरु गर्दै जाने छौ ।’

दोस्रो दिन शनिबार ज्ञानदिलदासको जीवनी र उहाँको बहुआयमिक व्यक्तित्वको बारेमा प्राज्ञिक बहस भएको छ । ज्ञानदिल दासको जीवनी सम्बन्धी कार्यपत्र साहित्यकार प्रकाश परियार र बहुआयमिक व्यक्तित्वको बारेमा साहित्यकार डा. देवी क्षेत्री दुलालले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । त्यस्तै ज्ञानदिलदासबारे भारतको सिक्किमका अन्वेशक ‘वीर बलिभद्र कार्की डोली’ ले सङ्कलन गरेको पुस्तक समेत सार्वजनिक हुने ज्ञानदिलदास प्रतिष्ठानका अध्यक्ष लामिछानेले जानकारी दिए ।

ज्ञानदिलदास जोसमनी धार्मिक–आध्यात्म जागरण र अभियानका एक सशक्त सन्तकवि हुन् । उनको जन्म वि.स. १८७८ मा फाकफोकथुम–३ आमचोकको जोरधारामा लामिछाने उपाध्यया ब्राह्मण परिवारमा भएको थियो । उनको बाल्यकालको नाम श्रीकृष्ण लामिछाने हो । ज्ञानदिल दासले सामाजिक व्यवस्था, जातीय असमानता, लिङ्गीय विभेदका विररुद्ध विद्रोह गरेको पाइन्छ ।
जोसमनी सन्त परम्पराको प्रचार–प्रसार गर्दै विभिन्न ठाउँ पुगेर लोकप्रियता प्राप्त गर्ने सन्तकवि ज्ञानदिल दासले जीवनको पूर्वार्ध नेपालमा र उत्तरार्ध दार्जिलिङ र सिक्किममा बिताएका थिए ।
उनको निधन धर्म प्रचारकै क्रममा सिक्किमको गेलिङमा कात्तिक २५ गते १९४० भएको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर