मिटरब्याजी पीडितहरू न्याय माग्दै काठमाडौँमा

मिटरब्याजी पीडितहरू न्याय माग्दै काठमाडौँमा


८ फागुन, काठमाडौँ । देशभरका मिटरब्याजी पीडितहरू काठमाडौँ आइपुगेका छन् । उनीहरू न्याय नपाएको भन्दै ‘न्याय मार्च’ नाम दिएर पूर्वपश्चिम पैदल यात्रा गरी आन्दोलनका लागि काठमाडौँ प्रवेश गरेका हुन् ।

उनीहरूले गएको माघ १६ गते शहीद दिवसको दिन झापा र कञ्चनपुरबाट एउटै समयमा पैदल यात्रा सुरु गरेका थिए । १७ दिन हिँडेर फागुनको ३ गते चितवनको नारायणगढमा भेला भएका थिए । मधेसका २० जिल्ला र अरू ८ जिल्लाका पीडित न्याय मार्चमा छन् । फर्जी तमसुक, चेकलाई अवैध घोषणा गरेर क्षतिपूर्ति दिनुपर्ने, समस्या समाधान गर्न न्यायिक आयोग गठन गर्नुपर्ने लगायत उनीहरूका माग छन् ।

यसअघि गएको वर्ष चैत १२ गते मिटरब्याजी पीडितहरू महोत्तरीको बर्दिबासबाट ११ दिन हिँडेर काठमाडौँ आएका थिए । पीडितहरूको धर्ना, प्रदर्शन र दबाबपछि सरकारले सम्झौता गर्दै चैत अन्तिममा मिटरब्याजी पीडितको समस्या समाधान गर्न तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो । काठमाडौंमा मंगलवार प्रदर्शनका क्रममा आन्दोलनमा सहभागी रोल्पाका गगन विश्वकर्माले लघु वित्तीय संस्थाहरूले बढी ज्यादती गरेको हुनाले आन्दोलन गर्नुपरेको बताए । उनले लघु वित्तीय संस्थाहरूले ऋणीसँग चर्काे ब्याज असुलेको बताए ।

उनले भने, ‘लघु वित्तीय संस्थाहरूले बढी ज्यादती गरेको हुनाले कसैलाई घरबारविहीन बनाए, कसैलाई जग्गा लुटेर बैंकमा लुटपाट गराइदिने, बढी चर्काे ब्याज असुलेका छन् । बढी पीडितलाई दबाब दिएकाले आन्दोलन गरेका हौँ ।’

लघु वित्तीय संस्थाविरुद्धको संघर्ष समिति नेपालले माघ १६ गतेबाट पैदल यात्रा सुरु गरेको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर