१७ माघ, बुटवल । कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले टिआरसी विधेयक भए सहमतिमा र नभए प्रक्रियाबाट टुंगो लगाउने बताएका छन । उनले यही माघ २२ गतेदेखि बस्ने हिउँदे अधिवेशनलाई सरकारले विधेयक निर्माणको अधिवेशनको रुपमा अगाडि बढाएको बताए ।
उक्त विधेयक अधिवेशनमा टिआरसी विधेयक, प्रहरी, निजामती कर्मचारी लगायतका संविधान कार्यान्वयनसँग जोडिएका २०–२५ वटा विधेयक पेस गर्ने तयारी भएको जानकारी गराए ।
नेपाल प्रेस युनियन रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री गुरुङले टिआरसी विधेयक र प्रहरी सम्बन्धी विधेयकलाई टुंगोमा र्पुयाउनको लागि शीर्षतहमा सहमतिको प्रयास भइरहेको बताउँदै सहमति हुन नसकेपनि प्रक्रियाबाट अगाडि बढाउने दाबी गरे ।
संक्रमणकालीन न्यायसम्बन्धी टिआरसी विधयेक सहमतिकै आधारमा टुंगो लगाउने गरी आफू क्रियाशील रहेको उनको भनाइ छ ।
नेपाली कांग्रेसका उपसभापति समेत रहेका मन्त्री गुरुङले राष्ट्रिय सभा सदस्य निर्वाचनमा कोशी प्रदेशमा भएको ‘क्रसभोट’ले गठबन्धनभित्र तरंग ल्याए पनि यसले खासै असर नपार्ने जनाए ।
उनले तत्काल मन्त्रिपरिषद् पुनःगठनको सम्भावना नरहेको पनि बताए ।


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७