१७ माघ, काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेश पलायन भइरहेका विद्यार्थीहरुलाई स्वदेशमै आकर्षित गर्न हरसम्भव प्रयास गर्नुपर्ने बताएका छन् । कृषि तथा वनविज्ञान विश्वविद्यालयको बाह्रौं साधारणसभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्रीले रोजगारी प्रवद्र्धन र विद्यार्थीलाई आकर्षित गर्ने कार्यक्रममा ल्याउनुपर्ने बताए ।
त्यसका लागि उत्पादन र उत्पादकत्व वृद्धिमा कृषि विश्वविद्यालयले भूमिका खेल्नुपर्ने उनको जोड छ । प्राध्यापक, कृषि वैज्ञानिक, विद्यार्थी र प्राविधिकको सहयोगविना उत्पादन र उत्पादकत्व लक्ष्यहरू हासिल गर्न नसकिने उल्लेख गर्दै जुनसुकै उपायहरू अपनाएर भए पनि उनीहरूलाई कृषिमा ल्याउनुपर्ने उनले बताए ।
कृषि विज्ञानमा भर्ना हुने विद्यार्थीको संख्या बढेको भन्दै खुसी व्यक्त गरेका प्रधानमन्त्री प्रचण्डले भविष्यमा राम्रो शिक्षा, अनुसन्धान र प्रविधि उत्पादनमा प्रभावकारी भूमिका निर्वाह गरेको देख्न चाहेको बताए ।
प्रधानमन्त्री प्रचण्डले स्याङ्जा र गोरखाका स्वीकृत कलेजहरूमा समेत शैक्षिक कार्यक्रम सुरू गर्न विश्वविद्यालयलाई सुझाव दिए ।
विश्वविद्यालयले हाल विभिन्न प्रदेशहरूमा ८ वटा कृषि संकाय र एउटा वनविज्ञान संकायअन्तर्गतका कलेज र दुई वटा कृषि विज्ञान केन्द्र स्थापना गरी सन्चालनमा ल्याएको छ ।