१६ माघ, काठमाण्डौँ । आफैंले चुनाव जिताएका सांसदले विकास आयोजना अलपत्र पारेपछि सास्तीमा परेका रामेछापका जनताले ठेकेदारसमेत रहेका सांसदलाई अल्टिमेटम दिएका छन् ।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नागरिक सरोकार तथा संघर्ष समिति चिसापानीले सांसद समेत रहेका ठेकेदार पूर्णबहादुर तामाङ (कान्छाराम) लाई १० बुँदे ध्यानाकर्षण गराएको हो ।
रामेछाप सदरमुकाम जोड्ने मन्थली–चिसापानी सडक निर्माणका लागि तीन वर्षअघि नै ठेक्का लगाइएको थियो । डेढ वर्षभित्र निर्माण गरिसक्ने समयसीमा तोकिएको ठेक्का तीन वर्ष बितिसक्दा पनि सडक कालोपत्र नभएपछि स्थानीय आन्दोलित भएका हुन् ।
ठेक्का सम्झौतामा उल्लेखित सात किलोमिटरमध्ये अहिलेसम्म जम्मा २ किलोमिटरमात्रै कालोपत्रे भएको सरोकार समितिले जनाएको छ । सो सडकको ठेक्का सांसद कान्छारामकै निर्माण कम्पनीले पाएको थियो । उनी रामेछापमा गठबन्धनबाट निर्वाचित कांग्रेस सांसद हुन् ।
सांसदको जिम्मेवारी काममा ढिलासुस्ती भए जनताको पक्षबाट खबरदारी गर्ने हो । तर, उनैले ठेक्का लिएर काम अलपत्र पारेपछि जनता उनलाई खबरदारी गर्न बाध्य भएको रास्वपा नेतासमेत रहेका चिसापानीका नरेश श्रेष्ठले बताए ।
सरोकार समितिले सात दिनभित्र निर्माण सुरू नगरे ठेकदार र तालुकदार निकायविरुद्ध आन्दोलन गर्ने घोषणा गरेको संघर्ष समितिका संयोजक प्रकाश श्रेष्ठले बताए । सडक अलपत्र छाडेर सांसद तामाङले जनताको स्वास्थ्यसँग खेलवाड गरिरहेको स्थानीय सुभास श्रेष्ठले बताए ।
बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट २०७६र०७७ मा पक्की सडक निर्माणका लागि टेन्डर आह्वान हुँदा एमएस कान्छाराम कन्ट्रक्सन कम्पनीले ठेक्का पाएको थियो । जसका सञ्चालक सांसद तामाङ हुन् ।