१३ माघ, इलाम । इलामको माई नगरपालिकामा स्थानीय पाठ्यक्रममा आधारित स्थानीय पाठ्यपुस्तक ‘हाम्रो माई नगर’कक्षा ४, ५ र ८ सार्वजनिकरण कार्यक्रम सम्पन्न भएको छ ।
माई नगरपालिका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, निजी तथा सामुदायिक बिद्यालयका प्रधानाध्यापक र शिक्षकहरु, संचारकर्मी लगायत सरोकारवालाहरुको सहभागितामा पुस्तक सार्वजनिकीकरण गरिएको हो ।
सार्वजनिकीकरण कार्यक्रममा बोल्दै नगर प्रमुख खम्बा सिंह लिम्बुले शिक्षा, स्वास्थ्य लगायतका विषयमा लगानी गर्ने कुरामा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरे । शिक्षक कर्मचारीले निर्माण गरेको पुस्तकको सम्मान गर्ने अवसर प्राप्त रहेकोमा गौरवान्वित भएको बताए ।
त्यस्तै उपप्रमुख हिमा भण्डारीले पुस्तकले माई नगरपालिका भित्रका विभिन्न धर्म, संस्कृति, भाषा र स्वास्थ्यलाई समेत जोडेर पुस्तक प्रकाशन भएकोमा खुसी व्यक्त गर्दै यसले नगरको परिचय दिन सक्षम रहने विश्वास ब्यक्त गरे ।
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत महेन्द्र विश्वकर्मा, सामाजिक विकास शाखा संयोजक राजेन्द्र राई, शिक्षक प्रतिनिधि किरण सुवेदी, रुद्र मगर लगायतले मन्तव्य राखेका थिए ।
शुक्रबार नै सम्पूर्ण विद्यालयलाई पाठ्यपुस्तक वितरण गरिएको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख सिता लावतीले जानकारी दिइन् ।