१३ माघ, झापा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले झापाको मेची पुल नजिकबाट नेपाली कांग्रेसको संवाद यात्रा सुरु गरेका छन् । थापाले जनतामा छाएको निराशा चिर्न र स्थानीय स्तरका गुनासा सुन्नका लागि पार्टीले संवाद यात्राको सुरुवात गरेको बताए ।
यात्रा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली समाजलाई निराशाबाट बाहिर निकाल्ने प्रयासस्वरुप यात्रा आरम्भ गरेको बताए । उनले यो यात्रा आफ्नो व्यक्तिगत नभएर पार्टीको समुदायसँग जोड्ने अभियान भएको स्पष्ट पारे । महामन्त्री थापाले आफूहरू भुईँ मान्छेको प्रतिनिधि भएको जिकिर गर्दै पार्टीप्रतिको गुनासो सुन्न र आम समुदायको समस्या बुझ्ने यात्राको उद्देश्य रहेको बताए ।
महामन्त्री थापाले यात्रा आरम्भ गर्नुअघि मेची क्याम्पस परिसरमा रहेको सहिद राम थापाको सालिकमा माल्यार्पण गर्नुका साथै क्याम्पसका शिक्षक, विद्यार्थीको समस्या बुझ्ने काम, प्रादेशिक अस्पताल भद्रपुरको नयाँ भवनको अवलोकनलगायत गरिएको बताए ।
कार्यक्रममा पार्टीका अर्का महामन्त्री विश्वप्रकाश शर्माले यात्राले जनताको दुःख, दर्द र मर्मलाई बुझ्नुका साथै आफूले गरेका कमीकमजोरी पत्ता लगाउनसमेत मद्दत गर्ने बताए । पार्टीलाई बलियो बनाउन कांग्रेसलाई बदल्नु आजको आवश्यकता रहेको उनको भनाइ थियो ।