११ माघ, एजेन्सी । अमेरिकी इतिहासमा राष्ट्रपतिमा निर्वाचितभन्दा बढी चर्चामा आउने पराजित उम्मेदवार कुनै हुन् भने त्यो व्यक्ति निश्चय नै डोनाल्ड ट्रम्प हुन । हुन पनि गएको चार वर्षमा अमेरिकी राष्ट्रपति जो बाइडेनको भन्दा बढी चर्चा र चासो ट्रम्पको रह्यो ।
कतिपय मुद्दामा त ‘ट्रम्प राष्ट्रपति भएका भए के गर्थे होलान ?’ भन्ने आधारमा पनि विभिन्न कोणबाट व्याख्या र विश्लेषणहरू हुने गरेको छ । खासगरी रुस–युक्रेन युद्ध, अमेरिकी आप्रवासन नीति र सीमा पर्खाल निर्माण, ताइवान मामिलामा चीन–अमेरिका तनाव, मध्यपूर्वमा अमेरिकी उपस्थिति मात्र होइन, रुस, इरान र उत्तर कोरियासँगको सम्बन्धलगायत विषयमा ट्रम्पलाई जोडेर हेरियो ।
२०२० को चुनावमा पराजित भएपछि केही ओझेलमा परेका ट्रम्प पछिल्लो समय भने फेरि चर्चा छन् । कारण, आगामी नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतिको चुनाव । रिपब्लिकन पार्टी प्राइमरीमा उनी निकै अगाडि देखिएका छन् । पार्टीभित्रकी एकमात्र प्रतिस्पर्धी निकी हेलीको अवस्था अनुमान गरिएभन्दा निकै कमजोर देखिएको छ । आयोवा र न्यु ह्याम्पसायर राज्यमा भएका प्राइमरीमा ट्रम्पले अप्रत्याशित समर्थन पाएका छन । त्यसमाथि पार्टीभित्र निकै प्रभावशाली मानिएका रन डेसान्टिसले आफू राष्ट्रपतिको दौडबाट अलग भएको घोषणा गरेपछि त उनका लागि बाटो झन् फराकिलो भएको छ ।
न्यु ह्याम्पसायर राज्यमा मंगलबारको प्राइमरीमा ट्रम्पले ५४.५ प्रतिशत मतसहित १२ प्रतिनिधिको समर्थन जुटाएका छन । ४३ प्रतिशत मत ल्याएकी निकी हेलीले ९ प्रतिनिधिको समर्थन पाएकी छन । कुल २२ प्रतिनिधि रहेको न्यु ह्याम्पसायर रिपब्लिकन दलको प्राइमरीका लागि निकै महत्त्वपूर्ण मानिन्छ । अमेरिकी सञ्चारमाध्यमका अनुसार राज्यको प्राइमरीमा विजयी हुने प्रत्याशी राष्ट्रपतिको उम्मेदवार बन्ने लगभग निश्चित हुने बताइन्छ ।
न्यु ह्याम्पसायर जितेपछि ट्रम्पका लागि पार्टीभित्रको दौड प्राविधिक रूपमा मात्र बाँकी रहेको अमेरिकी सञ्चारमाध्यमहरूले विश्लेषण गरेका छन । त्यसमाथि आयोवाको प्रतिस्पर्धामा दोस्रो स्थानमा रहेका रन डेसान्टिसले आफू राष्ट्रपतीय उम्मेदवारको प्रतिस्पर्धाबाट अलग रहेको घोषणा गर्दै ट्रम्पलाई समर्थन गरेका छन । जसका कारण ट्रम्प रिपब्लिकनको उम्मेदवार बन्ने लगभग निश्चित भएको छ ।
आठ वर्षअघि राष्ट्रपति पदका लागि रिपब्लिकन दलको उम्मेदवार बन्न ट्रम्पले फ्लोरिडाका पूर्वगभर्नर जेब बुससँग प्रतिस्पर्धा गर्नुपरेको थियो । तर बुसको आप्रवासन र शिक्षा नीतिले रिपब्लिकन समर्थकलाई आकर्षित नगरेका कारण ट्रम्पलाई सहज भएको थियो । यस पटक पनि ट्रम्पका लागि पार्टीभित्रको मुख्य चुनौती फ्लोरिडाकै गभर्नरलाई ठानिएको थियो । ट्रम्पलाई अर्काे मौका दिन नचाहने रिपब्लिकनहरूका लागि उनी विकल्प थिए । तर उनी आफैंले राजनीतिक भविष्य सुरक्षित बनाउन पछि हटेको ठानिएको छ । कतिपयले उनी ट्रम्पको उपराष्ट्रपतिका लागि प्रतिस्पर्धामा उत्रने अनुमानसमेत गरेका छन ।
यसअघि आयोवा राज्यको प्राइमरीमा ट्रम्पले ५१ प्रतिशत मतसहित २० प्रतिनिधिको समर्थन पाएका थिए । २१.२ प्रतिशत मत ल्याएका डेसान्टिसले ९ र १९.१ प्रतिशत मत ल्याएकी हेलीले ८ प्रतिनिधिको समर्थन पाएकी थिइन् । तीन प्रतिनिधिको समर्थन पाएका भारतीय मूलका विवेक रामास्वामीले ७.७ प्रतिशत मत ल्याएका थिए । रामास्वामी पनि चुनावी दौडबाट पछाडि हटिसकेका छन ।
सत्तारूढ डेमोक्रेटिक पार्टीबाट भने वर्तमान राष्ट्रपति जो बाइडेन नै उम्मेदवार बन्ने देखिएको छ । डेमोक्रेट पार्टीभित्रको प्रतिस्पर्धा केही कठिन हुन सक्ने देखिए पनि विभिन्न सर्वेक्षणहरूमा बाइडेन अगाडि देखिएका छन । जसका कारण आगामी नोभेम्बरमा ८१ वर्षीय बाइडेन र ७८ वर्षीय (चुनावी मितिमा) ट्रम्पबीच हुने निर्वाचनलाई २०२० को पुनरागमनका रूपमा हेरिएको छ । त्योभन्दा पनि महत्त्वपूर्ण ट्रम्पले बाइडेनसँग अघिल्लो चुनावको बदला लिने मौका पाउने भएका छन् । चुनावी सर्वेक्षणहरूमा ४७ प्रतिशत मत ट्रम्प र ४३ प्रतिशत मत बाइडेनको पक्षमा देखिएको छ । राष्ट्रपति पदमा निर्वाचित उम्मेदवारको सपथ चुनावपछि जनवरी २० मा हुनेछ ।
२०२० को चुनावमा ट्रम्प वर्तमान राष्ट्रपति जो बाइडेनसँग पराजित भएका थिए । बाइडेन ३ सय ६ इलेक्टोरल मतसहित राष्ट्रपतिमा निर्वाचित भएका थिए । ट्रम्प २ सय ३२ इलेक्टोरल मतमा सीमित भएका थिए । अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुन २ सय ७० इलेक्टोरल मत आवश्यक पर्छ । सन् १९०० यताकै धेरै प्रतिशत मत खसेको निर्वाचनमा बाइडेनले ८१ मिलियन मत पाएका थिए । लगातार दोस्रो कार्यकाल राष्ट्रपति बन्ने प्रयास असफल भएपछि ट्रम्पले सत्ता हस्तान्तरणमा किचलो निम्त्याएका थिए । पराजित भएपछि उनले चुनावी नतिजा अस्वीकार गर्ने मात्रै गरेनन, राष्ट्रपतीय कार्यालय ह्वाइटहाउस नछाड्ने घोषणा गरेका थिए ।
चुनावमा अनियमितता र धाँधली भएको भन्दै उनले मतपरिणाम अस्वीकार गरेका थिए । ट्रम्प र उनी पक्षधरहरूले डेमोक्रेटिक पार्टीको मत अप्रत्याशित रूपमा बढेको भन्दै प्रश्न उठाएका थिए । त्यसका साथै, ट्रम्प र उनको समूहले डेमोक्रेटिक पार्र्टीको शासन भएका फिलाडेल्फिया र डेट्रोयटजस्ता सहरमा रिपब्लिकन पार्र्टीका पर्यवेक्षकलाई पहुँच नदिइएको, भोटिङ मेसिनका मालिक डेमोक्रेट रहेका, हजारौं मृत व्यक्तिका नाममा भोट खसालिएको लगायतका आधारहीन आरोप लगाएका थिए । जसका कारण सयौं ट्रम्प समर्थकहरूले अमेरिकी संसद् भवन क्यापिटल हिलमा आक्रमण गरेका थिए । अमेरिकी कंग्रेसमा सांसदहरूले जो बाइडेनको जितको पुष्टि गर्न छलफल गरिरहेका बेला ट्रम्पका हिंसक समर्थकहरूले संसद् भवनमा पसेर हंगामा गरेका थिए । चुनावी परिणाम रद्द गर्न माग गर्दै प्रदर्शन गरिरहेका ट्रम्प समर्थकहरू सदनमा बहस चलिरहेकै बेला अचानक भवनभित्र प्रवेश गरेका थिए । त्यसक्रममा प्रदर्शनकारी र प्रहरीबीच हिंस्रक झडपहरू पनि भएका थिए ।
संसद् भवनमा हिंसा सुरु भएको घण्टौंपछि मात्रै ट्रम्पले एक भिडियो सन्देश जारी गर्दै समर्थकहरूलाई घर जान भनेका थिए । ट्रम्पको उक्साहटमा २०२१ को जनवरी ६ मा उनका समर्थकहरूले गरेको आक्रमणलाई अमेरिकी लोकतन्त्रमा कालो दिनका रूपमा हेरिन्छ । चुनावी परिणाम अस्वीकार गर्ने ट्रम्पको निर्णयको पक्षमा दह्रोसँग उभिएका अधिकांश रिपब्लिकन नेताहरू चुनावमा पराजित भएका छन । आगामी चुनावी प्रतिस्पर्धामा पनि ट्रम्पलाई संसद् भवनमा भएको आक्रमणमा आफ्नो भूमिकाबारे जवाफ दिनुपर्ने अवस्था आइपर्ने निश्चित छ । त्यस्तै, कोभिड महामारी व्यवस्थापनसम्बन्धी उनले चालेका गलत नीतिहरू पनि कतिपय अमेरिकीले बिर्सन सकेका छैनन्न।
त्यसैगरी, ट्रम्पको बुढ्यौली उमेर पनि प्रतिस्पर्धाका लागि प्रतिकूल हुने ठानिएको छ । राष्ट्रपति चुनिए भने शपथग्रहण गर्दा ट्रम्प ७८ वर्षका हुनेछन । तर डेमोक्रेटिकबाट वर्तमान राष्ट्रपति बाइडेन नै उम्मेदवार भएको खण्डमा भने ट्रम्पका लागि अनुकूल नै हुनेछ । २०२१ मा ह्वाइटहाउस प्रवेश गर्दा नै बाइडेन ७७ वर्षका थिए । २०२० को चुनावमार्फत दोस्रो कार्यकालका लागि राष्ट्रपति बन्न असफल भएका ट्रम्पले करिब दुई वर्षअघि नै २०२४ को राष्ट्रपतीय चुनावमा प्रतिस्पर्धामा उत्रने बताएका थिए । २०२२ को नोभेम्बरमा सार्वजनिक रूपमै उनले आगामी चुनावमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका थिए ।
त्यसअघि ट्रम्प २०१६ नोभेम्बर ८ मा भएको चुनावमा डेमोक्रेटिक पार्र्टीकी हिलारी क्लिन्टनलाई अनपेक्षित रूपमा पराजित गर्दै राष्ट्रपति भएका थिए । अमेरिकी राजनीतिमा बाइडेनको परीक्षण भइसकेको र मतदाताले उनीबाट ठोस नयाँ कार्यक्रम आउने वा अमेरिकी जीवनमा उल्लेख्य परिवर्तन हुने सम्भावना नरहेकाले बाइडेन नै प्रतिस्पर्धी भएको खण्डमा त्यसको लाभ ट्रम्पलाई हुन सक्ने विश्लेषकहरूको अनुमान छ ।