दुग्धजन्य पदार्थको भुक्तानीको समस्या समाधान गरिदिन इलामका किसानको माग

दुग्धजन्य पदार्थको भुक्तानीको समस्या समाधान गरिदिन इलामका किसानको माग

९ माघ, इलाम । इलामका किसानले दुग्धजन्य पदार्थको निकासी र भुक्तानीमा देखिएको समस्या समाधानको लागि पहल गर्न इलाम नगरपालिकासँग माग गरेका छन् । इलाम नगरपालिकाले आयोजना गरेको ‘इलाम नगर क्षेत्रभित्र दुग्ध क्षेत्रमा देखिएको समस्या र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा किसानले उत्पादन गरेको दुग्धजन्य पदार्थको निकासी र भुक्तानीमा देखिएको समस्या समाधान गर्न नगरपालिकासँग माग गरेका हुन् ।

ठूलो लगानीमा पशुपालन र दुग्धजन्य पदार्थ उत्पादनको व्यवसाय सञ्चालन गर्दै आइरहेको भएपनि पछिल्लो पाँच महिना दुध र दुग्धजन्य पदार्थको भुक्तानी नहुँदा समस्या भोग्नुपरिरहेको किसानहरुको गुनासो छ । इलाम नगरपालिका–५ का किसान बीरबहादुर अधिकारीले साउन १५ यताको दुधको पैसा नपाएको गुनासो पोखे । ‘साउन यता दुधको रकम भुक्तानी भएको छैन । पाउनुपर्ने रकम नपाएपछि परिवार चालनउन नै धौधौ भइसक्यो’ उनले भने, ‘हामीलाई कसलाई भन्दा भुक्तानी हुने हो, थाहा छैन । हाम्रो अभिभावक नगरपालिका हो । नगरपालिकाले आवश्य पहल गरिदिनुपर्छ ।’

सोही ठाउँका अर्का किसान गंगाप्रसाद नेपालले किसानले भुक्तानी पाउनुपर्ने रकम स्थानीय, प्रदेश र संघीय सरकार मिलेर भुक्तानी गर्न माग गरे । उनले किसानले दुधको भुक्तानी नपाउँदा नगरपालिकाले राहतको कार्यक्रम नल्याएको गुनासो गर्दै दुग्ध उत्पादक किसानलाई राहत प्याकेज ल्याउन नगरपालिकासँग माग गरे ।

इलाम नगरपालिका–५, माइपोखरीका किसान भुप्रसाद बजगाईंले दुध लिन दुग्ध विकास संस्थान (डिडिसी) को गाडी दैनिक आउन छोडेकाले दुध बिक्री हुन छोडेको गुनसो गरे । ‘डिडिसीको गाडी दैनिक रुपमा दुग्ध चिस्यान केन्द्रमा आउनुपर्ने हो । तर आजकल २र३ दिनमा मात्र आउँछ । नआएको दिन दुध बिक्री हुँदैन, किसान मारमा छन्’ उनले भने, ‘किसानको दुध लिन कमसेकम डिडिसीको गाडी दैनिक रुपमा आउने वातावारण बनाउन नगरपालिले पहल गर्नुपर्छ ।’ जिल्ला दुग्ध उत्पादक सहकारी संघ इलामका अध्यक्ष होम कट्टेलले गत भदैदेखि किसानले दुधको भुक्तानी नपाएको गुनासो गरे । उनले माघ तेस्रो सातासम्म पनि दुधको भुक्तानी नपाए किसानले आन्दोलन गर्नुपर्ने परिस्थिती सिर्जना भएको बताए ।

‘किसानले गत भदौदेखि हालसम्म मासिक १५ दिनको मात्र दुधको भुक्तानी पाएका छन् । किसानलाई दैनिक गुजारा चलाउन समेत धौधौ पर्न थालिसक्यो’ उनले भने, ‘किसानको समस्या समाधानका लागि चाँडो पहल गरियोस् । यो महिनाको तेस्रो सातासम्म पनि भुक्तानी नपाए किसानहरु आन्दोलित हुनुको विकल्प छैन ।’

डिडिसीले साउनदेखि पुससम्मको नौ लाख ५६ हजार पाँद्ब सय ६० लिटर दुधको भुक्तानी दिन बाँकी रहेको अध्यक्ष कट्टेलले बताए । डिडिसीले दुग्ध चिस्यान केन्द्र बिब्ल्याँटेमा दुई लाख ११ हजार ५० लिटर, दुग्ध चिस्यान केन्द्र तीनघरेमा दुई लाख ६१ हजार छ सय १० लिटर, दुग्ध चिस्यान केन्द्र फिक्कलमा एक लाख ८२ हजार चार सय लिटर र दुग्ध चिस्यान केन्द्र शान्तिडाँडामा तीन लाख एक हजार चार सय लिटर दुधको भुक्तानी दिन बाँकी रहेको जानकारी दिए । उनले दुग्ध चिस्यान केन्द्रले डिडिसीबाटै भुक्तानी नपाएकाले किसानले समेत दुधको भुक्तानी पाउन नसकेको बताए । उनले प्रत्यक्ष असर किसाले खेप्नुपर्ने भएकाले चाँडो समस्याको समाधान गर्न मा माग गरे ।

इलाम उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहेका व्यवसायी चेतनाथ पौड्यालले एक करोड १५ लाख बढीको घिउ र छुर्पी नबिकेर स्टोरमा थन्क्याउनुपरेको बताए । उनले अझ स्टोरमा नै रहने हो भने अखाद्य तत्वको रुपमा परिणत हुने चिन्ता व्यक्त गरे ।

‘हामी व्यवसायीसँग सवा करोड बढीको घिउ र छुर्पी नबिकेर स्टोरमा नै राख्न बाध्य छौं । अझ १५ दिनसम्म पनि बिक्री भएन भने अखाद्य तत्वमा परिणत हुन्छ । डिस्पोज गर्नुको विकल्प रहँदैन’ उनले भने, ‘यसबाट हामीले करोडौंको क्षति व्यहोर्नुपर्छ ।’ उनले एक लिटर दुध उत्पादनमा ५६ रुपैयाँ उत्पादन लागत लाग्ने भएकाले दुधको मुल्य घट्दा समेत किसान नै मार्कामा परेको बताए । राष्ट्रिय कृषक महासंघका संयोजक राम मगरले गुणस्तरीय दुग्ध सामग्री उत्पादन र बजारीकरणका लागि रणनैतिक अनुगमन गर्नेपर्ने बताए ।

कार्यक्रममा जिल्ला सहकारी संघ अध्यक्ष लिला थापा, नेपाल पत्रकार महासंघ विप्लव भटृराईलगायत सरोकारवालाहरुले उत्पादित दुधको गुणस्तर सुधार गरिनु पर्ने, दुग्धजन्य उत्पादनको आन्तरिक खपत बढाउनु पर्ने, संघ, प्रदेश र स्थानीय तहले समयमै समाधानको पहल गर्नुपर्ने, विदेशबाट आयात भइरहेको दुग्धजन्य उत्पादनलाई नियन्त्रणका लागि भन्सार बिन्दुमा क्वारेन्टाइन चेक र नियन्त्रण हुनु पर्ने ,दुग्ध विकास संस्थान बिराटनगरले किसानहरुलाई भुक्तान दिनुपर्ने रकम समयमा भुक्तान गर्ने गराउने व्यवस्था मिलाउनुपर्ने, दुग्धजन्य उत्पादनको आन्तरिक खपत बढाउने खालका नीति तथा कार्यक्रम लागू गर्नुपर्नेलगायत सुझाव दिएका थिए ।

इलाम नगर प्रवक्ता एवम् वडा नं ४ का वडाध्यक्ष नुतनदेव दुलालले भारतीय दुग्ध सामग्री आयातमा प्रतिबन्ध लगाए मात्र नेपाली दुग्ध उत्पादनले बजार पाउने बताए । ‘भारतीय बजारबाट प्याकेटका प्याकेट दुग्ध सामग्री नेपालमा भित्रन्छन् । पहिले त्यसलाई प्रतिबन्ध गर्न नीतिगत पहल गर्न जरुरी छ’ उनले भने, ‘यसका साथै नेपाली उत्पादनलाई गुणस्तरीय बनाउन समेत सबै सचेत बन्नुपर्छ ।’

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले किसानको समस्या सधानका लागि आफ्नो तर्फबाट पहल हुने प्रतिबद्धता जनाए । ‘किसानले राख्नुभएको विभिन्न समस्या र सुझावलाई प्रधानमन्धी तथा मन्त्रीपरिषदको कार्यालय, गृह मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय तथा सम्बन्धित निकायमा सम्प्रेषण गर्नेछु’ उनले भने, ‘दुग्ध विकास संस्थान (डिडिसी) को गाडी दैनिक रुपमा आउने वातावरण बनाउन समन्वय गर्नेछु ।’

नगर प्रमुख केदार थापाले किसानका समस्यालाई नगरपालिकाले गम्भीरतापूर्वक लिएको बताउँदै स्थानीय सरकारको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए । ‘उत्पादनदेखि बजारीकरणसम्म नै किसानका थुप्रै समस्याहरु छन् । ती समस्याबारे नगरपालिका गम्भीर छ’ प्रमुख थापाले भने, ‘स्थानीय सरकारको तर्फबाट किसानका लागि गर्नसक्ने काममा नगरपालिका सधैं प्रतिवद्ध छ । तर प्रदेश र संघीय सरकारबाट गर्नुपर्ने काममा विषयमा हामीले उहाँहरुसँग सहजीकरण गरिरहेका छौं, आवश्यक पहल गरिरहेका छौं ।’ प्रमुख थापाले दुग्धजन्य पदार्थको उत्पादन र बजारीकरणमा देखिएको समस्या समाधानका लागि नीतिगत रुपमा सुधार गर्नुपर्ने विषयमा समेत प्रदेश र संघीय सरकारसँग पहल भइरहेको बताए ।

इलाम नगरपालिकाका प्रमुख केदार थापाको अध्यक्षता र जिल्ला समन्वय समिति प्रमुख जयप्रकाश राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सरोकारवाला सरकारी तथा गैरसरकारी संघसंस्थाको उपस्थिति रहेको थियो ।

कार्यक्रमको पहिलो सत्रमा इलाम नगरपालिकाको पशु विकास शाखाको तर्फबाट प्राविधिक सहायक प्रकाश लुइटेलले समस्या र समाधानका उपायहरुका बारेमा प्रस्तुतीकरण राखेका थिए । उनले इलाम नगरमा मात्र दैनिक २० हजार लिटर दुध उत्पादन हुने गरेको बताए । उनका अनुसार दैनिक दुई हजार लिटर दुध डिडिसीमार्फत विराटनगर जाने गरेको छ । बाँकी दुध नीजि डेरी, चिज कारखाना, छुर्पी बनाउने उद्योग र मिठाई बनाउने उद्योगमा खपत हुने गरेको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर