७ माघ, काठमाण्डौँ । प्रेस काउन्सिल नेपालले पत्रकारलाई ल्यापटप र क्यामरा खरिदमा अनुदान दिने भएको छ । आज आइतबार एक सूचना प्रकाशित गर्दै काउन्सिलले मिडिया विकास कोषको स्वीकृत नीति एवं बजेट तथा कार्यक्रमअनुसार आर्थिक वर्ष २०८०–०८१ का लागि अनुदान कार्यक्रम तय गरेको हो ।
यसअनुसार ३० ओटा ल्यापटप र ६ ओटा क्यामेरा खरिदमा ३० देखि ४० प्रतिशतसम्म अनुदान दिइने काउन्सिलले जनाएको छ ।
त्यस्तै काउन्सिलले १० जनालाई लेखनवृत्ति, सात जनालाई शोधपत्र लेखन तथा एक सञ्चारकेन्द्र स्थापनामा पनि अनुदान दिने भएको छ ।
काउन्सिलका अनुसार एक पत्रकार वा सञ्चारगृहबाट एकमात्र सुविधाका लागि आवेदन दिन सकिनेछ ।
दुर्गम, स्थानीय सञ्चारमाध्यम र यसअघि उपलब्ध नभएका जिल्लालाई पहिलो प्राथमिकता दिइने भन्दै काउन्सिलले ३५ दिनभित्र आवेदन दिन अनुरोध गरेको छ ।