६ माघ, काठमाण्डौँ । नेपाल र भारत तर्फको अन्तर्राष्ट्रिय सीमा क्षेत्र (दशगजा) मिचेर निर्माण गरिएका साढे ५ सयभन्दा बढी भौतिक संरचना सशस्त्र प्रहरी बल (एपीएफ)ले हटाएको छ ।
करिव १ वर्षको अवधिमा विभिन्न जिल्लाका ३८ स्थानमा बनाइएका ५ सय ५६ घर, टहरालगायत भौतिक संरचना सशस्त्र प्रहरीले हटाएको हो । यस्ता अनधिकृत संरचना भारतीय सुरक्षाकर्मी, भारतीय नागरिक र केही ठाउँमा नेपाली पक्षले निर्माण गरेको भेटिएको छ ।
भारतसँग नेपालको करिब १ हजार ८ सय ८० किलोमिटर लम्बाइमा सीमा कायम छ । सशस्त्र प्रहरी र प्रमुख जिल्ला अधिकारीसहितका विभिन्न संयन्त्रबाट भएका अनुगमन र निरीक्षणका क्रममा दशगजा क्षेत्र मिचेर घर, टहरा र केही ठाउँमा स्थायी संरचना बनाएको भेटिएको र त्यस्ता संरचना हटाउने अभियानलाई जारी राखिएको सशस्त्र प्रहरीले जनाएको छ ।
केही ठाउँमा भारतीय सुरक्षाकर्मीसँग समन्वय गरेर र धेरैजसोमा सशस्त्र प्रहरी आफैं खटिएर अनधिकृत संरचना हटाइएको छ । खुला सीमानाका कारण नेपाल र भारतका थुप्रै ठाउँमा एक अर्का देशका नागरिक वारपार गरेर खेतीपाती गर्नेदेखि सीमानामा अनधिकृत संरचना बनाउनेसम्मका गतिविधिमा संलग्न छन् । भारतीयले वर्षाैंअघिबाट १५ जिल्लाको हजारौं हेक्टर नेपाली जमिनमा आएर खेतीपाती गर्ने गरेका छन् । नेपाली पक्षले पनि भारतका २ सय ७४ ठाउँमा क्रस बोर्डर खेतीपाती गर्ने गरेको केही वर्ष अघिको अध्ययनबाट खुलेको थियो । पछिल्लो एक वर्षको अवधिमा सशस्त्रले अनधिकृत संरचना हटाउने र दशगजामा खेतीपानी गर्न रोक लगाएको थप जग्गामा हो ।
‘वर्षाैंअघिबाट खेतीपाती गर्दै आएको विवाद छँदैछ, पछिल्लो एक वर्षको अवधिमा थप ठाउँमा दशगजा मिचेको भेटिएपछि फिल्डमै खटिएर दशगजा खाली गर्ने अभियान चलाइएको हो,’ सशस्त्रका एक अधिकारीले बताए ।
सशस्त्र प्रहरी प्रवक्ता एसएसपी राजेन्द्र खड्काले भारतीय सशस्त्र सीमा बल (एसएसबी) सँग समन्वय गरेर दशगजा क्षेत्रमा कानुनविपरीत बनाइएका घर–टहरा हटाइएको बताए । उनका अनुसार पछिल्लो केही महिनामा सशस्त्रले भारतीय पक्षसँग समन्वय गरेर १ हजार ८ सय सीमा स्तम्भ मर्मत र रंगरोगन गरेको बताए । भारतीय नागरिक र एसएसबीबाट अनधिकृत संरचना बनाउने तयारीमा रहेका १८ ठाउँमा निर्माणमा रोक लगाइएको छ ।
त्यस्तै भारतीय पक्षले नेपाल प्रवेश गरी खेतीपाती गर्दै आएको करिब १३ बिघा जमिन पनि खाली गरेको छ । त्यस क्रममा बिनाअवरोध आउजाउ गर्न मिल्ने गरी १ सय ७३ किमि क्षेत्र ओगट्ने १ सय ६१ ठाउँमा दशगजा क्षेत्र सरसफाए पनि गरिएको प्रवक्ता खड्काले जानकारी दिए ।
भारतसँग सीमा कायम गर्ने ८ हजार ५ सय ५३ वटा पिलर रहेकोमा ठूला पिलरको संख्या ९ सय १६, मझौला २ हजार ४ सय ८१ र साना स्तम्भ ५ हजार १ सय ५६ छन् । त्यसमध्ये २ हजार २ सय १६ वटा पिलर गायव छन् । खासगरी पिलर हराएका ठाउँमा भारतीय अतिक्रमण र बलमिच्याइँका घटना बढी हुने गरेका छन् ।
सीमा सुरक्षाका लागि सशस्त्रले चीनतर्फ ७ र भारततर्फ २ सय ४६ स्थानमा सीमा सुरक्षा युनिट तैनाथ गरेको छ । त्यसमध्ये डीएसपीको कमाण्डमा ४५ युनिट र बाँकीमा प्रहरी निरीक्षकको नेतृत्वमा बोर्डर आउट पोष्ट (बीओपी) मार्फत सशस्त्रको जनशक्ति तैनाथ छ । २०७७ मा तत्कालीन सरकारले चीन र भारततर्फ सीमा सुरक्षाका लागि बीओपी संख्या ५ सय र्पुयाउने लक्ष्य राखेको थियो । तर, त्यसअनुसार जनशक्ति र स्रोतरसाधन व्यवस्थापन नहुँदा काम अघि बढेको छैन ।
भारतले इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, रूपन्देही, बर्दिया र कञ्चनपुर गरी १५ जिल्लाका नेपाली भूभागमा छिरेर खेतीपाती र भोगचलन गर्दै आएका छन् । यो दार्चुलाको कालापानी र नवलपरासीको सुस्ताबाहेक हो ।
त्यस्तै नेपालबाट भारतीय भूभागमा गएर खेतीपाती र भोगचलन गर्ने कोशी प्रदेशका इलाम, झापा, मोरङ र सुनसरी, मधेशका ८ वटै जिल्ला, लुम्बिनीको बाँके र सुदूरपश्चिमको कञ्चनपुरमा देखिएको छ । दशगजा मिचेर बनाइएका संरचना हटाउनदेखि क्रस बोर्डर खेतीपाती समस्या सुल्झाउन, नियमित अन्तर्राष्ट्रिय सीमा स्तम्भ निरीक्षण तथा सुरक्षा, सहितका काममा नेपालबाट प्रमुख जिल्ला अधिकारी, भारतबाट डिस्ट्रिक मजिस्ट्रेड र दुवै देशका नापीका उपमहानिर्देशक तहका अधिकारी अनि नियमित रुपमा सीमा सुरक्षार्थ सशस्त्र प्रहरी र एसएसबी खटिँदै आए पनि नियमित रुपमा द्विपक्षीय बैठक नबस्ने, समन्वयका लागि काम नहुने लगायत कारण समस्या दोहारिने गरेका छन् ।