१२ पुष, दार्चुला । आगलागीमा परेर एक जनाको मृत्यु भएको छ । दार्चुलाको नौगाड गाउँपालिका-३ होपरीगाड बस्ने रनबिर टमटाको घरमा विद्युत सर्ट भई बुधबार बेलुकी आगलागी हुँदा उनको ४ महिनाको छोरा बिजय प्रकाश टमटाको जलेर मृत्यु भएको हो । आगलागीबाट घर पूणर्रुपमा जलेर नष्ट भएको छ ।
यसैगरी रूपन्देहीको शुद्धोधन गाउँपालिका-३ स्थित टाइगर बु्रअरी इण्डष्ट्रिज प्रालिको कम्पाउण्डमा पार्किङ गरी राखेको बा.६ च ९०२० नम्बरको कारमा ब्याट्री सर्ट भई बुधबार दिउँसो आगलागी हुँदा कारको अगाडिको भाग जलेर करिब १२ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
काभ्रेको चौरिदेउराली गाउँपालिका-५ स्थित गाउँपालिकाको कर्मचारीहरुको निवासमा पनि विद्युत सर्ट भई बुधबार दिउँसो आगलागी हुँदा ल्याप्टप, प्रिन्टर, फर्निचर लगायतका सामानहरू जलेर करिब ४ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
यसैगरी बर्दियाको बासगढी नगरपालिका-५ हाउपुर चोक बस्ने टेक बहादुर डाङ्गीको घर नजिकै रहेको परालको टौवामा बुधबार राति आगलागी भई उक्त आगो फैलिएर सँगै रहेको गोठमा समेत आगलागी हुँदा गोठ र पराल पूणर्रूपमा जलेर करिब ६ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।