१२ पुष, काठमाडौँ । काठमाडौँको गौशालाबाट अपहरणमा परेकी दुई वर्षीया बालिकाको उद्धार गरिएको छ । काठमाडौँ महानगरपालिका-८ स्थित पशुपतिनाथ मन्दिरको १ नम्बर गेटबाट मंगलबार साँझ ती बालिका हराएकी थिइन् ।
उनलाई भक्तपुरको सूर्यविनायक नगरपालिकास्थित दधिकोटबाट अपहरण मुक्त गरिएको उपत्यका प्रहरी कार्यालयका एकजना अधिकृतले जानकारी दिए । अपहरणमा संलग्न आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
बालिकाका अभिभावक पशुपतिनाथ मन्दिरको गेटमा चिया पसल चलाउँछन् । पीडित परिवारले चिया खान आएकाहरूले जबरजस्ती बालिका बोकेर लगेको प्रहरीलाई बताएका छन् । यस घटनाबारे जिल्ला प्रहरी परिसर काठडमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान गरिरहेका छन् ।