मोरङमा खुल्यो एक अर्ब लगानीमा नयाँ उद्योग

मोरङमा खुल्यो एक अर्ब लगानीमा नयाँ उद्योग

मंसिर २४, विराटनगर । नेपाल वेलहोप एग्री–टेक प्रालिले मोरङको ग्रामथान गाउँपालिका–२ झोराहाटमा करिब एक अर्बको लगानीमा उद्योग सञ्चालनमा ल्याएको छ । दाना उत्पादनमा नवीनतम् प्रविधिलाई आत्मसात् गर्दै वेलहोपले पेलेट दाना उत्पादन गर्न उद्योग सञ्चालनमा ल्याएको हो ।

नेपालको व्यावसायिक घराना वैद्य अर्गनाइजेसन र चिनियाँ वेलहोपको संयुक्त लगानीमा सञ्चालनमा आएको सो उद्योगले नेदरल्यान्ड्सको भेन आर्सन मेसिनको प्रयोगमार्फत दाना उत्पादन थालेको छ । गुणस्तरीय दाना उत्पादनका लागि प्रसिद्ध मानिने सो मेसिन नेपालमै पहिलोपटक प्रयोग भएको कम्पनीका प्रोडक्सन प्रमुख डम्बर आलेले जानकारी दिए ।

दाना उत्पादनमा उत्कृष्ट मेसिनका रूपमा परिचित भेन आर्सनले गुणस्तरीय दाना उत्पादन गर्ने उनको भनाइ छ । पूर्ण रूपमा स्वचालित मेसिनद्वारा उत्पादन हुने हुँदा गुणस्तरमा सधैँभरि एकरूपता कायम हुने आलेले जनाए ।

अत्याधुनिक प्रविधिबाट उत्पादित पेलेट दानाको मूल्य प्रतिस्पर्धी देखिए पनि दाना खपत कम हुने र उत्पादकत्व बढी हुने भएकाले समग्रमा किसानहरूलाई अरूको तुलनामा बढी नाफामूलक हुने कम्पनीका राष्ट्रिय बिक्री संयोजक डाक्टर जितेन्द्र लामाले बताए ।

‘मुलुककै सर्वाधिक धेरै दाना उत्पादन क्षमता भएको कम्पनी भएकाले किसानहरूलाई चाहिएको समय र स्थानमा सहज रूपमा दाना उपलब्ध हुन्छ,’ उनले भने, ‘बजारको माग परिपूर्ति गर्नेगरी हामीले नयाँ उद्योगमार्फत् उत्पादन थालेका हौं । किसानलाई गुणस्तरीय दाना उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो ।’

साढे तीन बिघा क्षेत्रफलमा फैलिएको झोराहाटस्थित उद्योगमा सय जनाभन्दा बढीले रोजगारी पाएका छन्, त्यसमा स्थानीयसमेत छन् । वातावरणीय प्रदूषण न्यूनीकरण गर्न उद्योगले चिम्नीमा ‘मेकानिकल डस्ट कलेक्टर’ प्रयोग गरेको छ, जसले गर्दा धुलो बाहिर जाँदैन र त्यस क्षेत्रआसपास प्रदूषण नहुने उद्योगका प्राविधिकहरूको भनाइ छ ।

उद्योगले दाना उत्पादनका अलावा किसानको हितका लागि पशुपन्छी पालनसम्बन्धी तालिम दिन प्राविधिक सुबिधा उपलब्ध पनि गराउने गरेको छ । किसानको फार्म निरीक्षणका लागि प्राविधिकको टोली पठाउने र किसानलाई आवश्यकताअनुसारको परामर्श सेवा उपलब्ध गराउने काम पनि कम्पनीले गरिरहेको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर